arrow

ढोंगी बिरालो

logo
प्रकाशचन्द्र खतिवडा,
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
prakashchandra-khatiwada-82-7-29.jpg

च्यतिनु पर्छ दासताका पर्दाहरू
भत्काइनु पर्छ मठ, मन्दिर र देवालयहरू
भत्काइनु पर्छ गुम्बा, मस्जिद र चर्चहरू
ओ, गुरु पुरोहितहरू 
ओ, लामा, इमाम  र पोपहरू
पाप र पुण्यको दुहाई दिएर
छलकपट गर्दै हुनुहुन्छ तपाईंहरू ।

मैले प्रतिवाद गर्नै पर्छ 
तपाइहरूको नाटकीय व्यवहार देखे पछि 
कहाँ छ पाप ?
कहाँ छ पुण्य ?
कहाँ छ नर्क ?
कहाँ छ स्वर्ग ?
तथाकथित भ्रम छरेर 
मानवता माथि खेलवाड गरिरहनु भएको छ तपाईंहरू ।

के युद्ध धर्म हो ?
युद्धका नाममा मारिएका छन मान्छेहरू
किन रोक्न सक्नु भएन युद्ध ?
लाखौ लाख हताहत  हुँदा पनि 
मान्छेहरू रोइरहेका छन 
मान्छेहरू चिच्च्याइ रहेका छन 
मन्दिर, गुम्बा, मस्जिद र चर्च अगाडि नै
किन सुन्दैन भगवान ?
मानिसका आर्तनादहरू ।

भो, छोड्दिनुस् भ्रम छर्न 
मान्छेलाई कति दिन ढाँटेर राख्नुहुन्छ 
जताततै कोलाहल र त्राश छ 
गरिबी अशिक्षा र अनिकाल छ 
किन हटाउन सकेन ?
तपाईको धर्मले कोलाहल र  त्राश 
गरिबी अशिक्षा र अनिकाल 
तपाईहरूको पाखण्डी नियममा 
को बस्छ सधै  भरी ?
मान्छे उन्मुक्ति चाहान्छ 
थन्क्याउनोस् तपाईका भ्रमित भगवानहरू ।

मान्छेहरू अकालमै मरिरहेका छन् 
किन रोकिँदैन अकाल मृत्यु ?
तपाईंको परमेश्वर के हेरिबस्छ ?
 तपाईं अन्यायमा परेको बेला न्याय पाउनु हुन्न भने ।

तपाईंहरू विरुद्ध धर्म युद्ध लड्नु छ अब मैले 
किन रोक्न सक्नु भएन ?
हत्या, हिंसा र आतंक 
के यही हो धर्म युद्ध ?
धर्मकै नाममा मानवता मर्नु परे पछि ।

किन चाहियो भगवान् ?
मान्छेको मर्म नबुझेपछि ।

म शुली चढ्न तयार छु
म विद्रोह गर्न तैयार छु 
तपाईहरूकै तथाकथित धार्मिक अन्धता माथि 
म अनुयायी बन्न सक्तिनँ
डढाइ देउ धर्म ग्रन्थहरू 
मैले खरानीको टीका लगाउनै छ ।

तपाईहरू ढोंगी विरालो जस्तै हो 
मुसा मार्नु हुँदैन भन्दै 
निर्ममतापूर्वक  मुसाकै शिकार गर्ने धुर्त विरालो जस्तो 
छोडिदिनुस धार्मिक अन्धता 
धर्म अफिम जस्तै हो 
नसामा   बहुलठ्ठीपन देखाउनु हुन्छ किन ?
म खेद प्रकट गरिरहेछु 
धर्मको नाममा पाप गर्नेहरूप्रति । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ