तस्बिर : असोज २८ गते शुरू भएको बैठकमा सभापति देउवाले सम्बोधन गर्दै, फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति निरन्तर लम्बिदै गएको छ । गत कार्तिक २७ गते महामन्त्रीद्धय र एक उपसभापतिले सम्बोधन गरेपछि २८ गते नै कार्यवाहक सभापतिले निर्णय सुनाएर बैठक टुंग्याउनु पर्ने थियो ।
कार्यवाहक सभापतिले बैठकलाई छलफलमै सहमति गरेर टुंग्याउनु पर्नेमा शनिबार बिहान सामाजिक सञ्जालमा सन्देश दिँदै ढिलै भए पनि सही निर्णय आउने भन्दै साथ सहयोगका लागि अपेक्षा गरेका थिए ।
बैठक शनिबार पनि बसेन । आज बस्ने भनिएको बैठक पनि सारियो । यो बीचको अवधिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का संस्थापनको गुटको बैठकमा भने व्यस्त रहे । कार्तिक २७ गतेपछि बैठक बसेको छैन ।
यसैबीच गत साता नै कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किसकेका छन् ।
यति हुँदाहुँदै पनि अब फेरि कांग्रेसले केका लागि बैठक लम्ब्याइरहेको छ भन्ने संकेत दिन थालेको छ ।
पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने छलफल भएको छ । गत असोज २८ गते सभापति देउवाले कार्यकारी खड्कालाई सुम्पेर महाधिवेशन छिटै गर्न आग्रह गरेका थिए ।
अहिले कांग्रेसका लागि महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने उत्तम समय भएको भए पनि संस्थापनले अटेर गरिरहेको छ ।
अहिले कांग्रेस सत्तामा पनि छैन र प्रतिपक्षको भूमिकामा संसदमा खडा हुनुपर्ने पनि छैन । प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ ।
जेन–जी आन्दोलनपछि पुराना दलहरुलाई हेर्ने नजरसमेत बदलिएको अवस्थामा कांग्रेसले आफूलाई परिमार्जित गर्दै समय सान्दर्भिक अगाडि बढ्न महाधिवेशन गरी नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने जोड चलिरहेको छ ।
संस्थापन इतरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते नै बुझाएको थियो । सो मितिले पनि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने पार्टीको विधानमा उल्लेख छ ।
त्यसलाई नकारेर संस्थापन जान मिल्दैन भन्ने संस्थापनलाई पनि थाहा छ । तर संस्थापन अझै पनि चुनावमा टिकट बाँडेरमात्र महाधिवेशन गर्ने ‘मुड’ मा रहेको आरोप छ ।
नियमित महाधिवेशन गर्दा पनि ०७८ मंसिरमा महाधिवेशन गरेको पार्टीले यही मंसिरको अन्तिममा महाधिवेशन गर्न सक्छ । महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी पुस २९ लाई नाघेर कांग्रेसले कुनै निर्णय गर्न सक्दैन ।
यस्तो अवस्थामा कांग्रेसले बैठक लम्ब्याएर भन्दा सही निर्णय सही समयमा गरेर महाधिवेशनमा होमिनुपर्ने सुझाव कांग्रेस बुद्धिजीवीहरूलेसमेत दिइसकेका छन् ।
आफूलाई निष्कलंक बताउँदै आएका कार्यवाहक सभापतिले कुनै पनि व्यक्ति वा गुटको पछि नलागी कांग्रेसको अस्तित्व जोगाउन सही निर्णय गरेनन् भने त्यसले परिणाम राम्रो नदिने निश्चित छ ।
संस्थापनकै २५ केन्द्रीय सदस्यलेसमेत चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर बुझाइसकेका छन् । अब फेरि निर्णय गर्न केले ढिलाइ भएको हो भन्ने कार्यवाहक सभापतिले कुनै जानकारी दिएका छैनन् ।
यसअघि नै महामन्त्रीद्धयले कार्यतालिकासहित महाधिवेशनबारेको विचार सार्वजनिक गरिसकेका छन् ।