arrow

बाला चतुर्दशी व्यवस्थापनका लागि पशुपति कोषका कर्मचारीलाई १८ घण्टा खटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
balachaturdashi--pashupati-.jpg

काठमाडौँ। यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई बिदा नदिइ पशुपति क्षेत्रमा खटाउने निर्णय गरेको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

जेन-जी शहीदको सम्मान र व्यवस्थापन: सदस्यसचिव जोशीले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा शहीद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने निर्णय गरेको उल्लेख गरे। बत्ती बाल्नका लागि जेन-जी शहीदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन कोषले अनुरोध गरेको छ। शहीद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ।

मेलाका नियम तथा सुविधा: मेला व्यवस्थापनका लागि पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय भएको छ। बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय लगायतका खाली स्थानहरूमा पाल र सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको छ।

शुल्क र प्रवेश समय: दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ। नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ।

स्वास्थ्य र सुरक्षा: पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ।

बिक्री वितरणमा रोक: बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।

अन्य व्यवस्थापन: कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ। काठमाडौँ महानगरपालिकाले कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्ने भएको छ।

शतबीज छर्ने दिन: मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन भक्तजनको घुइँचो हुने भएकाले पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने निर्णय भएको छ।

कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार मेलामा सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइ र स्वयंसेवी परिचालन लगायतका तयारीहरू अन्तिम चरणमा पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ