'जेन-जी' युवालाई मन्त्री पुनको जवाफ- 'आफैँ चुनाव लड्नुहोस् र सरकार बनाएर माग पूरा गर्नुहोस्' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
870
Shares
काठमाडौँ । विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले 'जेन–जी' युवाहरूलाई काठमाडौँमा बसेर ज्ञापनपत्र बुझाउनुको सट्टा आगामी निर्वाचनबाट युवा नेतालाई जिताएर आफ्नै सरकार बनाउन र त्यसपछि मात्रै आफ्ना सबै मागहरू पूरा गर्न आग्रह गरेका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले कतिपय मागहरू पूरा गर्न नसकिने किसिमका रहेको स्पष्ट पार्दै युवाहरूलाई आफैँ निर्वाचनमा भाग लिएर जितेर आउन सुझाव दिए।
मन्त्री पुनले भने, "अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने। योभन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्साएर बस्ने होइन। यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो।" उनले थपे, "अब जेन जीका भाई बहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने। केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन।"
यसैबीच, जेन–जी २.० ले प्राविधिक शिक्षासँग जोडिएका समस्या समाधानका लागि एक हप्ताभित्र पूरा गर्न अल्टिमेटम दिएको छ। उनीहरूले विशेषगरी यसै वर्ष सिटिईभिटिको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई पढ्ने व्यवस्था गर्न माग गरेका छन्।