एनएमबि बैङ्कद्वारा पाटा र भिसासँग सहकार्य गर्दै पर्यटन क्षेत्रका लागि सजिलो डिजिटल भुक्तानी प्रविधि लागू
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
623
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेडले प्यासिफिक एसिया यात्रा सङ्घ (पाटा) नेपाल शाखा तथा भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पओएस’ प्रविधिको प्रयोगलाई विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस सहकार्यसँगै नेपालको पर्यटन क्षेत्रमा डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र प्राविधिक रूपमा उन्नत बनाउने लक्ष्य रहेको बैङ्कले जनाएको छ।
सफ्ट पओएस एक आधुनिक सुविधा हो जसले व्यवसायीहरूलाई भौतिक पओएस मेसिन बिना नै आफ्नो एनएफसी–सक्षम एन्ड्रोइड मोबाइल फोन मार्फत डिजिटल कार्डको सहायता प्रयोग गरी भुक्तानी स्वीकार गर्न सक्षम बनाउँछ।
पाटा नेपाल शाखा मुख्यतः होटेल, यात्रा एजेन्सी, हवाई सेवा प्रदायक संस्थाहरू तथा पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसायीहरूको संयोजन सङ्गठन हो। यस साझेदारीमार्फत पाटाका सदस्य व्यवसायीहरूलाई डिजिटल प्रविधि–मैत्री बनाउने लक्ष्य एनएमबि बैङ्कले लिएको छ।
एनएमबि सफ्ट पओएसको प्रयोगले भुक्तानी प्रक्रिया सरल र छरितो, कारोबार सुरक्षित, ग्राहक तथा पर्यटकका लागि सहज सेवाको उपलब्धता जस्ता फाइदाहरू उपलब्ध हुने छन्।
यस प्रविधिले पर्यटन क्षेत्रमा डिजिटल कारोबारको मात्रा बढाउने, वित्तीय पहुँच विस्तार गर्ने तथा नेपालको समग्र पर्यटन उद्योगमा आधुनिक डिजिटल भुक्तानी प्रणालीको स्वीकार्यता थप बलियो बनाउने बैङ्कको विश्वास छ।
एनएमबि बैङ्कले हाल मुलुकभर २०२ शाखा, १८४ एटिएम, र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ।