नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी-व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरूको आत्मबल कमजोर भएको बताएका छन् ।
नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी-व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताएका हुन् ।
उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताए ।
अध्यक्ष मल्होत्राले जेन-जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए ।
अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।
अध्यक्ष मल्होत्राले भने, ‘सबैभन्दा यो देशको दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउँछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । इज्जत पाउने जुन वर्ग हो, उसले इज्जतै पाउन सकेन । एउटा न्यारेटिभ के विकास भयो भने यिनीहरू ठगहरू हुन्, यिनीहरू ट्याक्स चोर्छन्, यिनीहरूले राम्रा काम गर्दैनन्, भन्ने खालको न्यारेटिभ बन्यो । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी बिना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ ?’
नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल-भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना रहेको बताए ।
उनले आगामी दिनमा भियतनामसँग सम्बन्ध बढाएर नेपालले व्यवसायिक फाइदा लिनुपर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘भियतनामको जुन जीडीपी ग्रोथ छ, सोही अनुसारको नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउन जरुरी छ ।’
उनले भियतनाममा हुने मेलाहरूबाट फाइदा उठाउन नेपालले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए ।