असी वर्षीया अम्बिकाको यःमरी बनाउने चाखलाग्दो अनुभव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
841
Shares
काठमाडौँ । मंसिरशुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि-आधारित जीवनशैली, धार्मिक आस्था र सामुदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो ।
धान भित्रने, कृषकको मेहनतको प्रतिफल प्राप्त हुने र परिवार तथा समुदाय एकै ठाउँमा भेला भएर समृद्धिको कामना गर्ने यो पर्व शताब्दियौँ पुरानो इतिहास बोकेर आज पनि उतिकै उत्साहका साथ मनाइँदै आएको छ ।
यस दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ, किनकि यसै पूर्णिमाबाट परम्परागत रूपमा धान काट्ने, भित्र्याउने र नयाँ चामल सेवन गर्ने विधि शुरू हुन्छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घरघरमा नयाँ धानको चामल कुट्ने, पिठो बनाउने र त्यसैबाट यःमरी बनाउने चहलपहल देखिन्छ । सुगन्धित चामल, तातो बाफ र चाकुको मीठास मिसिएको यःमरीको गन्धले धेरैलाई आकर्षित गर्छ ।
नेवार समुदायमा यःमरी स्वाद मात्र होइन, शुभता, समृद्धि र देवप्रतिको आस्थासँग जोडिएको सांस्कृतिक प्रतीक हो । चामलको पिठो गोलो आकारमा बनाइन्छ, भित्र चाकु, तील, दूधको खुवा वा अहिलेका केही घरहरूमा आधुनिक स्वादका लागि घीउ-काजु, मखाना आदि समेत प्रयोग गर्न थालिएको छ । तर परम्परागत स्वादकै यःमरी अझै सबैको प्रमुख रोजाइमा छ ।
यःमरीको टुप्पो लामो बनाउने चलन यसको सबैभन्दा विशिष्ट विशेषतामध्ये एक हो । यःमरीको चुचो जति लामो, आयु पनि त्यति नै दीर्घ र शुभ हुन्छ भन्ने जन विश्वास पनि छ ।
त्यसैले घरका दिदी-बहिनीहरू, बाजेबज्यैदेखि लिएर सानातिनाहरू समेत यःमरिको टुप्पो अझै लामो र सुन्दर बनाउने प्रयासमा रमाइरहेका हुन्छन् ।
उमेरले ८० टेकेकी काठमाडौँकी अम्बिका महर्जन सिंहलाई आज पनि यमरी बनाउन खुबै जाँगर चल्छ । बाबुबाजेको पालादेखि नै यमरी बनाउने र परिवारका सबै सदस्य बसेर सामूहिक रुपमा खाने परम्परा आजपनि जीवित राखेको उनी सुनाउँछिन् ।
यमरी बनाउने विधि र प्रक्रियामा फरकपन आएकोमा उनलाई आश्चर्य चकित पनि लागेको छ । उनका अनुसार, पहिले-पहिले यःमरी बनाउन पिठोलाई भित्र खाली राख्न हुँदैन भन्ने कडा मान्यता थियो ।
त्यसैले कम्तीमा पाँचओटा चामलका दाना राखेर नै पकाइन्थ्यो । महिनौँ मिहिनेत गरेर उब्जाइएको धानले परिवारलाई समृद्धि प्रदान गरोस भन्ने कामनाका लागि राखिने पाँच दानालाई शुभको प्रतीकका रूपमा लिइन्थ्यो ।
आधुनिक समयमा चाकु, खुवा, तिल राखेर बनाइने यमरी जनप्रिय बन्दै गएको छ । चाकुको सुगन्ध र खुवाको मिठासले यसलाई नेवार समुदायमात्र होइन अन्य जातजातिका मानिसका लागि पनि मनपर्ने परिकार बनाइदिएको छ । धेरैले यःमरी पुन्हिको अवसरमा घरमै बनाउँछन् भने होटल-रेष्टुरेन्टमा पनि विशेष परिकारका रूपमा यसको माग बढेको छ ।
यसको अर्को विशेष सामाजिक पक्ष भनेको बालबालिकालाई यमरी लगाइदिने परम्परा पनि छ । नेवार परिवारमा बच्चा दुई वर्ष र चार वर्ष पुग्दा, तथा कतिपय घर-घरमा १२ वर्ष पुग्दा बच्चाको स्वास्थ्य, दीर्घायू, सुख र समृद्धिका लागि विशेष यमरी पकाइदिन्छन् र त्यसको माला बनाएर बच्चालाई लगाइदिने गरिन्छ ।
धान भित्र्याउने परम्परासँग जोडिएको अर्को चलन भनेको यमरीलाई धान राख्ने ठाउँमा चढाउने हो । पहिले भकारीमा चढाइन्थ्यो, अहिले भकारी नभए पनि धान राख्ने कोठा वा भण्डारण भाँडामा राखिन्छ ।
यमरी पूर्णिमाको दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, नेवार संगीत, नाचगान र समुदायिक भोज-भतेर पनि हुन्छ ।
‘यःमरी महोत्सव’ वा ‘यःमरी मेला’ आयोजना गर्ने चलन बढ्दो छ । यसले नयाँ पुस्तालाई परम्परा सिकाउने मात्र होइन, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि योगदान दिएको छ ।
तर परम्परागत मान्यताले केही सीमा पनि तोकेको छ । यःमरीमा मासु राखेर पकाउनु अशुभ मानिन्छ । अम्बिका महर्जन सिंहका अनुसार आजसम्म मासु राखेर पकाएको छैन ।