एमाले महाधिवेशन तयारी तीव्र: व्यवस्थापन समिति सचिवालयको बैठक सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
2.2k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको बैठक आज (सोमबार) सम्पन्न भएको छ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरिएको छ।
सङ्गठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका विभिन्न १३ वटा समितिका संयोजकहरूले आ–आफ्नो प्रगति विवरण पेस गरेका छन्।
एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ, जसको अन्तिम तयारी तीव्र रूपमा भइरहेको ढुङ्गेलले जानकारी दिएका छन्। महाधिवेशन सफल बनाउनका लागि विभिन्न १३ वटा समिति गठन गरिएका छन् भने महासचिव पोखरेलको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।