के छ ओलीसँग प्रतिस्पर्धाको तयारी गरेका ईश्वरको अवधारणा पत्रमा ? [४० पृष्ठको दस्तावेजसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
2.2k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा भिडन्त गर्ने तयारी गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनलाई लक्षित गरी तयार पारिएको अवधारणा पत्र सोमबार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बुझाउन अनुकूल नभएपछि उनी आफू पक्षका नेताहरूसहित पुगेर महासचिव शङ्कर पोखरेललाई उक्त ४० पृष्ठको दस्तावेज पत्र हस्तान्तरण गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलका अनुसार, यो अवधारणा पत्र पार्टीको तर्फबाट प्रस्तुत हुने दस्तावेजहरूमा आवश्यक विषयवस्तु समेटियोस् भन्ने उद्देश्यले तयार पारिएको हो। अवधारणा पत्रमा पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व प्रणालीलाई कसरी चलाउनुपर्छ, पार्टीभित्रको नियन्त्रण र सन्तुलनको परिचालन कसरी गर्ने, र पार्टी जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ भन्ने विषयहरू केन्द्रित छन्। उनले आफूहरूले यो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रूपमा राख्ने बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरूले पार्टीमा नेतृत्वमा पुनर्गठन चाहेको र यो नभए पार्टी गलत ढङ्गले अघि बढ्ने जिकिर गरे। उनले ‘यदि पुनर्गठन राम्रो गरियो भने पार्टी थप प्रभावकारी ढङ्गले जान सक्छ। पुनर्गठनको काम ठीक ढङ्गले हुन सकेन भने पार्टी यथास्थितिमा र उल्टो दिशातर्फ जान सक्छ’ भन्ने आफ्नो राय रहेको स्पष्ट पारे।
महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्याबारे बोल्दै उनले विवादित कुराहरूलाई सङ्गठन विभागको तर्फबाट सच्याउने काम भइसकेको बताए। यद्यपि, केही जिल्लामा प्रतिनिधि छनोट गर्ने सिलसिलामा ‘अस्वस्थ्य खालका गतिविधि’ देखिएको र त्यसलाई निरूपण गर्ने मामिलामा पनि अलि ठीक ढङ्गले नभएको कुरा अध्यक्ष ओलीलाई केही दिनअघि भेट्दा पनि राखिएको जानकारी दिए।
यही मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने चुनावी महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् । उनको प्रस्ताव छलफल नगराउने ओलीको रणनीति रहेको पाएपछि उनीपक्षी नेताहरु आक्रामक बन्न थालेका छन् ।