एमाले महाधिवेशनमा 'नो विदेशी पाहुना' नीति, १६ दललाई मात्र निम्तो
जनपरिचालन मुख्य प्राथमिकता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
2.3k
Shares
काठमाडौँ। नेकपा एमालेले यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशी पाहुनाहरूलाई भौतिक रूपमा आमन्त्रण नगर्ने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका छन्। उनका अनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छैन, बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ। नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई भने महाधिवेशनका लागि आमन्त्रण गरिएको छ।
महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताएका छन्। लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको उनको भनाइ छ। असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्वहरूलाई खबरदारी गर्ने सन्देश दिने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए।
महाधिवेशनमा १०८ जना मनोनितसहित कुल २,२६८ प्रतिनिधि रहनेछन्। बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिएको छ। उनले नेकपा एमालेले युवाहरूलाई महत्त्वपूर्ण स्थान दिने बताएका छन्। १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानूनी वैधानिक सुनिश्चितता गरिएको पनि उनले जानकारी गराएका छन्।