दश अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे अर्थमन्त्री खनालसँग छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
734
Shares
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका विषयमा छलफल गरेका छन् ।
सिंहदबारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे अर्थमन्त्री खनालको ध्यानकर्षण गराएको हुन् ।
जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए ।
बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाउने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे ।
उनले भने, ‘आगामी दिनमा प्रवासी समुदाय नेपाल डेभलपमेन्ट फन्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्न हामी तयार छौँ ।’
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फन्ड सञ्चालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गरे ।
पूर्वअध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत ‘ब्रेकथ्रु’ गरिदिन आग्रह गरे ।
प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्षद्वय पन्त र बिनोद कुँवर, क्यानाडाका अध्यक्ष ध्रुव भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलगायत सहभागी थिए ।
नेपाल सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको कोष स्थापना गर्न लागिएको छ ।
उक्त एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको पाँच प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।