आफ्नो वरिपरिकालाई मात्रै योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
863
Shares
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरूले चाहेको बताएका छन् ।
पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरूलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरूले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेद्वारी दिने अवस्था आएको बताएका हुन् ।
उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क समेत गरे ।
उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गरे ।
उनले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुक्र्यौं । हामी यसको विपक्षमा छौँ । कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आँफैले आफ्नो नेता आफैँ मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौँ । यो परिपाटीलाई हामीले पार्टीको आधारभुत परिपाटीको रुपमा विकास गर्यौँ भने यो पार्टीलाई कसैले छुन सक्दैन । कसैले हल्लाउन सक्दैन । यही लडाई यो महाधिवेशनको लडाईँ हो । यो लडाईमा हामी जित्न सकौ । जित्नेगरी अगाडि बढौँ ।’
उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्तिसमेत जनाए ।