महाधिवेशनमा एमालेले यसपालि पुनःओलीलाई जिताउनु भनेको पार्टीलाई थप कमजोर र अविश्वासिलो अनि देशलाई थप अस्थिर र अशान्त बनाउनु नै हो
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ मंसिर २७ शनिबार
1.2k
Shares
नेकपा एमालेको ११ औँ महाधिवेशन आजदेखि शुरु हुन गइरहेको छ। नेकपा एमालेले यसपालि देशको विषम परिस्थितिकै बीचमा महाधिवेशन सम्पन्न गर्दैछ। महाधिवेशन भनेको वास्तवमा महोत्सव पनि हो तर भर्खर जेन-जी आन्दोलनका कारण घटेका विभिन्न दु:खद घटनाले एमालेले यो महाधिवेशनलाई कसरी सम्पन्न गर्छ, त्यो हेरौँ ।
एमालेको अहिलेको चहलपहल र रवाफ देख्दा देशमा के विषम परिस्थिति आएको थियो र ? सार्वजनिक सम्पदा र सम्पत्ति जलेका हुन् र ? नेताका घर जलेका हुन् र ? भन्ने जस्ता अत्यन्तै संवेदनाहीन दृश्यहरू पनि देखिन्छन् । यस्तो अवस्थामा पनि एमालेका कतिपय नेतादेखि कार्यकर्तासम्म त रगत खाएका बाघजस्ता पनि देखिन्छन् ।
हुनत यहाँ मैले नेकपा एमालेका कुरा गर्दा कसैलाई यो त एमाले विरोधी हो,यसले जहिले पनि एमालेको विरोध गर्छ भन्ने लाग्छ होला।मैले कहिल्यै एमालेको विरोध गरेको छैन । केवल ओली र ओली प्रवृत्तिको आलोचना गरेको हुँ।
म एमाले विरोधी होइन,बरु एमालेको शुभचिन्तक हुँ । नेकपा एमाले नेपालीको सार्वजनिक सरोकारको संस्था भएको हुनाले आलोचना गर्ने गरेको छु। एमालेले आफूलाई जनताको बहुदलीय जनवादबाट निर्देशित पार्टी भन्ने हुनाले उसले बारम्बार बाटो बिराउँदा सतर्कता अपनाओस् भन्ने मेरो आशय हो ।
एमाले थप जीवन्त,बलियो र परिपक्व होस् अनि कहिल्यै नबिग्रियोस् भन्ने मेरो शुभकामना हो । म राष्ट्रप्रेमी र लोकतन्त्रवादी नेपाली हुनाले देश र लोकतन्त्र बलियो हुन दलहरू बलिया र जीवन्त हुनुपर्छ र राजनीतिक दलहरू विचार प्रधान,लोकतान्त्रिक,जीवन्त भएमात्र लोकतन्त्र बलियो र समृद्ध हुन्छ भन्ने मेरो मान्यता हो।जब कुनै दल दर्शन, विचार, विधि र विधानबाट चल्छ तबमात्र त्यसका नेतादेखि कार्यकर्तासम्म अनुशासित र इमान्दार हुन्छन् ।
नेपालका पुराना दलहरू विचारविहीन,नेता केन्द्रित र व्यावसायिक हुनाले आज यिनीहरूमाथि यति धेरै आशङ्का र अविश्वास बढिरहेको छ। आज नेपाली कांग्रेस भनेको शेरबहादुर देउवा,नेकपा एमाले भनेको केपी ओली र माओवादी (अहिले नेपाली कम्युनिष्ट पार्टीओ भनेको प्रचण्ड हुन् भन्नेमा यी दलहरू पुगेका छन् । यी दलका कुनै पनि कार्यकर्ताहरूले यो मेरो पार्टी हो भनेर गर्व गर्न सक्ने अवस्थामा छैनन् ।
नेतृत्वले दललाई व्यक्तिगत कम्पनीजस्ता बनाएका छन्।केही झोले बाहेक अधिकांश कार्यकर्तामा कुनै ऊर्जा,उमङ्ग र जोश पनि देखिँदैन।अहिलेकै ताजा कुरा गर्दा एमालेकै पनि महाधिवेशन प्रतिनिधि चयनमा जम्मा सतचालीस प्रतिशतको उपस्थिति भयो भन्ने सुनिन्छ,यो त शुभ सङ्केत होइन।
तीन दलका नेतृत्वहरू केन्द्रमा बसेर हाम्रो पार्टीका यति लाख र उति लाख कार्यकर्ता र मतदाता छन् भन्दै राज्यसत्ताको दोहन गरी भागबण्डामा रमाइरहे।नेपाली काङ्ग्रेस र एमाले जस्ता दलहरूको उमेर बढ्दै जाने तर शरीर घट्दै जाने अवस्था भइरहेको छ।
आज राजनीतिक दललाई व्यक्तिगत कम्पनी बनाउँदा दलहरू जनतामा छिर्न र भिज्न सकेका छैनन्।दल र नेता भनेका जनताका अभिभावक र सहारा हुनुपर्नेमा यो पनि खत्तम र त्यो पनि खत्तम भनेर कोही पनि विश्वासयोग्य हुन सकेका छैनन्।जनतामा दलहरूप्रति वितृष्णा छ।नेपालका कुनै नेताप्रति आड र भरोसाको कुरा छोडौँ एकरत्ति विश्वास नै गर्न सक्ने अवस्था छैन।दलगत वा व्यक्तिगत स्वार्थका लागि जहाँ पनि जो जसरी पनि मिल्ने र राज्यसत्तालाई भागबण्डा गर्ने परिपाटीले दलहरू अत्यन्तै कमजोर र अविश्वसनीय भएका छन्।
नेकपा एमाले जिन्दावाद,भोट केमा?-हलोमा,नेपाली काङ्ग्रेस जिन्दावाद,भोट केमा?-हँसिया हथौड़ामा भनेपछि नेपालका दलहरूको स्तर र अवस्था कस्तो छ भन्ने कुरा ऐनाजस्तै छर्लङ्गै छ। राजनीतिक दलहरू केवल चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्म मात्र केन्द्रित हुनाले देशमा आजको जटिल र विषम परिस्थिति सिर्जना भएको हो।
कार्यकर्ताहरू पनि वास्तविक कार्यकर्ता हुन सकेनन्,केवल झोलेमात्र भए।विगत ३६ वर्षमा राज्यलाई दलीयकरण मात्र गरियो।विश्वविद्यालयदेखि अख्तियार र मानव अधिकार आयोगसम्म दलीयकरणले थलाथला परे।कुनै पनि संस्था दलबाट स्वतन्त्र हुन सकेनन्।नेपालको राज्य संयन्त्र कति हदसम्म असफल र असक्षम भएछ भनेर हेर्न त भर्खरैको भदौ २३ र २४ को घटनालाई हेरे पुग्छ ।
भदौ २४ मा कुनै घरमा आगजनी र लुटपाट हुँदा न छिमेकीले गुहार गर्न सके न पुलिसले नै बचाउन सके । यहाँभन्दा ठूलो भयावह केही हुन सक्छ र?जनतालाई आपतविपत पर्दा राज्यका यति धेरै अङ्गहरूले किन काम गर्न सकेनन्?देश दुईचार घण्टामा खरानी हुँदा राज्य संयन्त्र किन निष्क्रिय वा असफल भयो?यसो हुनुको प्रमुख कारण भनेको तत्कालीन नेतृत्व र राज्य संयन्त्र असफल हुनु होइन र?राज्य संयन्त्र कमजोर बनाएका यिनै दलहरूले हैनन् र ?
देश खरानी हुँदा लाखौँ कार्यकर्ता छन् भनेर ध्वाँसा देखाउने दलहरू त्यसबेला कहाँ थिए?आगो लागेपछि कालो कपडा लगाउने वा रातो टीका लगाउने वा गोरा छाला भएकाको ठूलो षड्यन्त्र हो भनेर केवल अरुलाई आरोप लगाएर उम्किन मिल्छ र ?
अब यही प्रसङ्गमा एमालेको महाधिवेशनको चर्चा गरौँ।महाधिवेशनको लागि सर्वेसर्वा र सार्वभौव भनेका महाधिवेशन प्रतिनिधि नै हुन्।एमालेको महाधिवेशनमा प्रतिनिधिहरूले भदौ २३ र २४ को घटनालाई ओझेलमा पारेर केवल नेतृत्व नै चुन्ने कुरालाई ध्यान दिएको देखिन्छ । यो घटनालाई नजरअन्दाज गरिनुहुन्न।महाधिवेशनमा यो घटनाका बारेमा निकै गम्भीर भएर समीक्षा गरिनुपर्छ ।
यस्तो किसिमको बहस, आलोचना र समीक्षाले पार्टी जीवन्त हुनुका साथै बलियो र स्वस्थ नेतृत्व पनि जन्मिन्छ।महाधिवेशन प्रतिनिधिहरूले केपी ओलीले भने जस्तै गरी भदौ २३ र २४ को जेन-जी आन्दोलन/विद्रोहलाई केवल उपद्रव र विध्वंश मात्र हो भनेर हल्का तरिकाले बुझ्नु हुँदैन ।
यसलाई सामान्य घटना मानेर केवल कुनै बाहिरी वा भित्री शक्तिको षडयन्त्र मात्र हो भनेर उम्कन खोजियो भने फेरि अर्को दुर्घटना निम्तिन सक्छ।एमालेले आफ्नो कमजोरीलाई स्विकारेर जनतासँग माफी मागी नयाँ आयामसाथ अगाडि जानुपर्छ।देशको एउटा जिम्मेवार पार्टीले अनर्थका गफ गरेर,सीता वा राम वा शिव यहाँ र त्यहाँ जन्मेका हुन् भनेर जनतालाई अनावश्यक भ्रममा पारेर राजनीति गरिनु हुन्न।नेतृत्वको बोलीमा मिठास,काममा इमान्दारिता र एकापसमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ ।
नेकपा एमालेले नयाँ पुस्ताको माग र आक्रोशलाई सम्बोधन हुनेगरी नेतृत्व चयन गर्नुपर्छ।समय अनुसार दललाई गतिशील गराउनु पर्छ।आजभन्दा चालीस वर्ष पहिलेका विचार,वाद र कार्यशैलीले अब काम गर्दैन।अहिले विश्व डिजिटल र एआई युगमा प्रवेश गरेको छ। अब अर्कोलाई चर्को गाली गरेर र सत्तोसराप गरेर पार्टी चल्दैन।विगत चार दशकदेखि तात्विक गुणात्मक परिवर्तन गर्न नसकेका एउटै अनुहार पटकपटक देख्दा जनता र तत्तत् पार्टीका कार्यकर्ताहरू पनि वाक्क भएका छन्।अब भागबण्डा र गुटबन्दीले पार्टी चल्न सक्दैन। हरेक पुराना दलहरू अब नयाँ बन्नका लागि पुस्तान्तरण र हस्तान्तरणको अनिवार्य आवश्यकता देखिन्छ।
अब एमालेले फेरि ओलीलाई नै पुनरोदय गराएर के पाउँछ त?केपी ओलीले जवर्जस्त आफ्नो कमजोरीलाई छिपाउन यो महाधिवेशनमा पुनःअनुमोदन हुन खोज्दैछन्।यो महाधिवेशनमा ओलीलाई पुनःअध्यक्ष बनाउनु भनेको उनको अहंकार र दम्भलाई थप प्रोत्साहन गरिनु हो।
एमालेको अध्यक्षमा ओली निर्वाचित हुनु भनेको भोलिको सम्भावित प्रधानमन्त्री हुनाले फेरि पनि उनको असक्षमता र कमजोरीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट जोगिन पनि उनलाई आजै रोक्नुपर्छ।भदौ २४ गते देश राज्य विहीन भएर विध्वंश भएको घटनालाई प्रतिनिधिहरूले यति छिट्टै बिर्सेर ओलीराजको पुनरोदय गराए भने त्यसको मूल्य तिर्न निकै भारी हुनेछ ।
देश पुरै जल्दा राज्य संयन्त्रलाई थाहा नहुनु भनेको के हो ? के मानेमा नेतृत्वको सफलता हो र?व्यक्तिगत रुपमा कुरा गर्दा आज एमालेकै नेताकै पनि घरबास,थातथलो छैन । घटनामा ७६ जना शहादत भएका छन् । अझैसम्म शहीद परिवारका आँसु सुकेका छैनन् ।
त्यति ठूलो मानवीय र भौतिक क्षति हुँदा नेतृत्व र राज्य संयन्त्र कतिसम्म कमजोर र असफल रहेछ भनेर यही घटनाबाटै मात्र पाठ सिक्न पनि सकिन्छ त । मैले थाहा पाउन सकिनँ, म र देशमाथि ठूलो षड्यन्त्र भयो भनेर बुरुक्क उफ्रेर उम्किन पाइन्छ र ?
भोलि अर्कोले पनि त्यसै भन्ला,अनि के गर्ने ? देश सकिएपछि चिन्ता गरेर हुन्छ र ? देश छ र पार्टी छ । देश नहुँदाको पार्टी वा नेताको औचित्य छ र ? महाधिवेशन भनेको देशको समसामयिक विषयका बारेमा पनि चिन्ता,चिन्तन,बहस,छलफल र समीक्षा गरिने ठाउँ होइन र ?
केपी ओलीको दुई कार्यकाल अध्यक्ष र तीन कार्यकालको प्रधानमन्त्री त हेरियो,देखियो,भोगियो । अब केपी ओलीबाट देशले के पाउँछ भन्ने आश छ र?ओलीबाट केही नेतालाई मन्त्री र कार्यकर्तालाई कुनै खास पद बाहेक नेपाल र नेपालीलाई अब केही पाउँला भन्ने आशा छँदैछैन ।
महाधिवेशनमा एमालेले यसपालि पुनःओलीलाई जिताउनु भनेको पार्टीलाई थप कमजोर र अविश्वासिलो अनि देशलाई थप अस्थिर र अशान्त बनाउनु नै हो।ओलीका बकम्फुस गफ,उखान टुक्का र उनको बातन्त्रले देश बन्दैन ।
यद्यपि यहाँ मैले निरपेक्ष रुपमा केपी ओलीलाई अपमान गरेर पूर्ण रुपमा खत्तम, योगदान नै नभएको र देशद्रोही नै हुन् भन्न खोजेको चाहिँ होइन । नेपाली राजनीतिमा ओलीको योगदान एउटा पाटो छँदैछ । अब केपी ओलीबाट एमाले चल्न सक्दैन र देश पनि चल्न सक्दैन भन्ने मेरो धारणा हो ।
ओलीलाई अगाडि बढाउने वा बिसाउने भन्ने निर्णायक शक्ति भनेका महाधिवेशन प्रतिनिधिहरू नै हुन् । देश यतिबेला सामाजिक र आर्थिक रुपमा अत्यन्तै जर्जर भएको छ।यस्तोबेलामा एमालेका प्रतिनिधिहरूले निकै संवेदनशील भएर सोच्नुपर्छ।हल्ला र भिडका आधारमा नेतृत्व चयन गरेर बारम्बार देशलाई अस्थिर र अशान्त बनाउनु हुँदैन । नेताको योग्यता,योगदान,सक्षमता र कुशलताका आधारमा नेतृत्व छान्नुपर्छ ।
एमालेले आजको नेतृत्व कस्तो छान्ने भन्ने कुराले भोलिको देश कस्तो बनाउने भन्ने कुरा निर्भर पनि हुन्छ । राम्रो क्षमतावान नेतृत्व छान्दा दल र देश राम्रो बन्छ।बारम्बार असफल प्रमाणित भएका पात्रलाई पुनः दोहोर्याउनु वा तेहर्याउनु भनेको पुन: देशमा अर्को सङ्कट निम्त्याउनु हो भन्ने कुरालाई प्रतिनिधिहरूले बुझ्न जरुरी छ।
आशा छ महाधिवेशन प्रतिनिधिहरूले नवपुस्ता र समयको माग र आशालाई सम्बोधन हुने गरी एउटा जुझारु नेतृत्व चयन गर्नेछन् । यस महाधिवेशनले अहिले देखिएको एमालेभित्रको 'बा' वादको अन्त्य गरोस् ।