एमालेको मञ्चमा कांग्रेसको सन्देशः सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास [भिडियो]
जेन–जी पुस्तालाई जोडेर साझेदारी कायम गरी वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्ने आधार निर्माण गर्ने विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
920
Shares
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले) ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र योग्य नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।
नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापेक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताए। उनले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा जोड दिए। बहुदलीय व्यवस्थामा दलहरू सुसङ्गठित, व्यवस्थित हुनको साथै जनप्रिय हुन पनि उत्तिकै जरुरी रहेको उनको भनाइ छ।
खड्काले भने, "जब मुलकमा मुख्य दलहरू कमजोर वा विभाजित हुन्छन्, तब मुलुकमा निरङ्कुशता हाबी भएको छ। अराजकता मौलाएको छ। ... यस महाधिवेशनको माध्यमले नेकपा एमालेले आफूलाई अझ परिष्कृत र व्यवस्थित गर्दै समयसापेक्ष दल बनाउन, अझ सुदृढ बनाउन सर्वसम्मत विधि प्रक्रियाबाट सक्षम र योग्य नेतृत्व चयन गर्ने विश्वास हामीले लिएका छौँ।"
उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितिलाई सही ढङ्गले विश्लेषण गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्न संविधान निर्माणमा सहकार्य गरेका दलहरू, अन्य दलहरू र जेन–जी पुस्ताका युवाहरूलाई समेत जोडेर साझेदारी कायम गरी वर्तमान राजनीतिक चुनौतीलाई सामाना गर्ने आधार निर्माण गर्ने भन्ने विश्वास व्यक्त गरे।
यसै क्रममा, उनले भदौ २३ र २४ को जेन–जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको पनि बताए। उनले नेपालमा ऐतिहासिक सम्पत्ति र विभिन्न राजनीतिक दलका कार्यालयहरू जलाइएको उल्लेख गर्दै ती आपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने पनि बताए।