arrow

विधान संशोधन गरी १०औँ महाधिवेशनकै संरचनामा फर्कियो एमाले

युवाका लागि १५ सदस्यीय 'क्लस्टर' छुट्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
uml-banda-satra.jpg

काठमाडौँ। नेकपा (एमाले) ले विधान संशोधन गरी आफ्नो १०औँ महाधिवेशनअनुसारकै पार्टी संरचना निर्माण गर्ने भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको बन्दसत्रबाट पार्टीले उक्त प्रस्ताव पारित गरेको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिएकी छिन्।

अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहेको बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रीय कमिटी चयन गरिनेछ। अर्यालका अनुसार, एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन्।

केन्द्रीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने र पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने जानकारी पनि अर्यालले दिइन्। पार्टीले सात प्रदेश, उपत्यका विशेष कमिटी तथा राजधानी विशेष कमिटीको आधारमा नौ जना सचिवको अवधारणा ल्याएको छ।

पार्टीले महाधिवेशनमा युवाका लागि झन्डै ५ प्रतिशत कोटा छुट्याएको छ, जसअनुसार १५ जनाको क्लस्टर रहनेछ। युवालाई छुट्याएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी हरेक प्रदेशबाट एक-एक जना रहेका छन्। यसैगरी खुलातर्फ २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ १ जना गरी १५ जना कोटा छुट्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ