एनआरएनएको एकता महाधिवेशन फागुन दोस्रो साता काठमाडौँमा हुने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
638
Shares
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ।
विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो। सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिएका छन्। उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै साङ्गठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पुर्याउन गङ्गाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ। उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन्।
सङ्घले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ। सङ्घले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ।