एमाले महाधिवेशनमा चर्को बहस: 'सङ्ख्या होइन, मन मिलाउनुस्' भन्दै ओलीलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2k
Shares
काठमाडौँ। नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली लाई "अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन" भनी गरेको आग्रहपछि विधान संशोधनको विषयले बैठकमा नयाँ मोड लिएको छ। पछिल्लो दोस्रो विधान महाधिवेशनबाट पारित विधानलाई संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या थप गर्ने/नगर्ने विषयमा गरमागरम बहस चलिरहेको थियो।
मङ्सिर २६ गतेको सचिवालय बैठकमा आधिकारिकरूपमा ११औँ राष्ट्रिय महाधिवेशनमा विधान संशोधनको प्रस्ताव नलाने निर्णय भएपनि, महाधिवेशनको बन्दसत्रअघि भएको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य खिमलाल भट्टराईबाट 'फ्लोर' बाट विधान संशोधनको प्रस्ताव आएको थियो, जसपछि सदस्यहरूले पक्ष र विपक्षमा मत दिन थाले। सचिव भट्टराईले अन्तरपार्टी लोकतन्त्रको अभ्यास भएको भन्दै सङ्ख्या बढाएर प्राविधिक समाधान भएपनि मन मिल्छ भन्ने सुनिश्चितता नहुने तर्क राखे।
बहस चल्दै जाँदा विधान संशोधन खुला गर्ने हो भने दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद खुला गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट प्रस्ताव आएपछि अध्यक्ष ओलीले विधिबाट हल गर्ने भन्दै मतदानमा जान सकिने बताए। त्यसपछि पद सङ्ख्या मात्रै बढाउने गरी आएको विधान संशोधनको प्रस्ताव सहजै पारित भयो, जुन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले राख्दा तालीको गडगडाहट उत्पन्न भएको थियो। एमालेले विधान संशोधन गरेर दशौँ राष्ट्रिय महाधिवेशनमा कायम रहेको ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी को संरचनालाई ब्युँताएको छ। यसमा वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ भने सचिवको सङ्ख्या बढाएर नौ पुर्याइएको छ।
केन्द्रीय सदस्य सीता पौडेलले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्य रोक्का गर्न नहुने तर्क राखेकी थिइन्। अध्यक्ष ओलीले पूर्व राष्ट्रपति सम्मानित स्थानमा रहनुपर्ने र राजनीतिमा आउन नहुने निर्णय यसअघि नै केन्द्रीय कमिटीबाट भएको तथा उहाँले सदस्यता पुनः लिन चाहेमा पार्टीले प्रक्रियागतरूपमा पुनःविचार गर्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका सवालमा अभिभावकीय भूमिका खेल्न आग्रह गरेका थिए।
भक्तपुरको सल्लाहघारीमा मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रअन्तर्गत दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार उम्मेदवारको अन्तिम नामावली आज साँझ ६ः०० बजे प्रकाशन हुनेछ र मतदान पुस १ गते हुनेछ। एमालेको महाधिवेशनमा मनोनित सहित दुई हजार २६३ प्रतिनिधि रहेका छन् र अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको समूहबीच चुनावी प्रतिस्पार्धा हुन लागेको छ।