काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउनेक्रम अन्तिम चरणमा पुगेको छ।
भृकुटीमण्डपस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरू व्यस्त रहेको जानकारी दिए। उनले आज अपराह्न ३:३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिए।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरु भएको थियो र संशोधनसहित आज दिउँसो १ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ। नेता गौतमले "उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढङ्गबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ। साथीहरू उत्साहित् भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ," भने।
नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु १० हजार र केन्द्रीय सदस्यका लागि रु ५ हजार शुल्क तोकिएको छ। उम्मेदवारी फारम शुल्क भने रु १०० तोकिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिए।