मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले थाल्यो अन्तर्राष्ट्रियस्तरका वेलनेस कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
698
Shares
चितवन । मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले अन्तर्राष्ट्रियस्तरका नयाँ वेलनेस कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। नेपालको वेलनेस तथा आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा चितवनमा अवस्थित मिरायाले प्राण वेद आयुर्वेद तथा विश्वप्रसिद्ध ‘द फार्म एट सान बेनिटो’बाट प्रेरित उपचार दर्शन समेटिएका कार्यक्रम सार्वजनिक गरेको हो।
यससँगै नेपाललाई विश्वस्तरीय वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको रिसोर्टले जनाएको छ। मिरायाका वेलनेस कार्यक्रमको केन्द्रमा प्राण वेद रहेको छ । जसको नेतृत्व भारतको केरलाकी अनुभवी आयुर्वेदिक चिकित्सक डा. क्रिस्टिना फ्रान्सिसले गर्छिन् । दश वर्षभन्दा बढीको अनुभव भएकी डा. फ्रान्सिसको नेतृत्वमा व्यक्तिगत आयुर्वेदिक परामर्श, उपचार, योग तथा प्राचीन साधनामा आधारित कार्यक्रम सञ्चालन गरिने रिसोर्टले जनाएको छ।
रिसोर्टका अनुसार डिटक्स (शोधन), तनाव न्यूनीकरण तथा निद्रा सुधार (शान्ति), मौन साधना (मौन विश्राम), रसायन पुनर्जीवन, तौल व्यवस्थापन तथा महिला स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
यसैगरी ‘द फार्म एट सान बेनिटो’बाट प्रेरित उपचार दर्शनअनुसार वनस्पति–आधारित पोषणयुक्त भोजन, स्पा उपचार, व्यक्तिगत स्वास्थ्य मूल्याङ्कन तथा प्राकृतिक वातावरणमा आधारित उपचार अनुभव प्रदान गरिनेछ। मिराया देवचुली पहाडको काखमा, चितवनका जंगलले घेरिएको शान्त वातावरणमा अवस्थित छ।
सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यी कार्यक्रमले नेपालमा समग्र स्वास्थ्यको नयाँ युगको सुरुआत गरेको बताए। “प्राचीन आयुर्वेदिक ज्ञान र अन्तर्राष्ट्रिय उपचार दर्शनलाई एकीकृत गर्दै हामीले नेपाललाई विश्व वेलनेस नक्सामा उचाल्ने प्रयास गरेका छौँ,” उनले भने।
मिरायाका वेलनेस कार्यक्रमका लागि न्यूनतम तीन रातको बसाइ अनिवार्य गरिएको छ भने आवश्यकताअनुसार २४ रात वा सोभन्दा बढीको प्याकेज पनि उपलब्ध रहेको रिसोर्टले जनाएको छ।