एमाले महाधिवेशनमा युवाको प्रभावशाली उपस्थिति, सकारात्मक नेतृत्वको अपेक्षा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
700
Shares
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको संघारमा काठमाडौँको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ ।
सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ ।
महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियु जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र समुदायको सक्रिय सहभागिताबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए।
उनले नेकपा एमालेभित्र कुनै पनि गुट नरहेको दाबी गर्दै सबैलाई समेटेर अघि बढ्ने पार्टीको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। अब आउने नेतृत्व अझ बलियो र जनउत्तरदायी हुने उनको भनाइ छ ।
महाधिवेशनमा सहभागी युवाहरूले पछिल्लो समय चर्चामा रहेको ‘जेन-जी आन्दोलन’ले तोडफोड र अस्थिरता मात्र निम्त्याएको टिप्पणी गर्दै नेकपा एमाले भने सबै पुस्ता र समुदायलाई मिलाएर अघि बढ्न सक्ने सक्षम पार्टी भएको बताएका छन् ।
सहभागी रोशन घिमिरेले नेकपा एमालेको ११औँ महाधिवेशन हर्षोल्लासका साथ सम्पन्न भइरहेको बताए।
उनले सामूहिक भावनाका आधारमा एमालेमा जो नेतृत्व आए पनि सबैले सहयोग गर्ने स्पष्ट पारे।
उनका अनुसार नेतृत्व कसैले दिएर लिने विषय होइन, यो क्षमता, लगनशीलता, योगदान र कार्यसम्पादनका आधारमा स्थापित हुने प्रक्रिया हो।
एमालेभित्र युवादेखि सबै वर्गका व्यक्तित्व सक्षम र अब्बल भएकाले जो आए पनि पार्टी सशक्त रूपमा अघि बढ्ने उनले बताए।
सक्रिय युवा नेता कमल रावलले महाधिवेशनपछि नेकपा एमालेमा सक्षम र सकारात्मक नेतृत्व आउने विश्वास व्यक्त गरे।
यस पटकको महाधिवेशनले युवाका विषयमा विशेष ध्यान दिएको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताले भावी नेतृत्व पनि युवामैत्री हुने उनको भनाइ छ ।
उनका अनुसार अबको राजनीतिमा नेतृत्व जो आए पनि सबैले एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता छ ।
एमालेको आस्था बोकेर देशभरबाट आएका नेता तथा कार्यकर्ताले खुसीका साथ पार्टीलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
सीटीभीटी उपत्यका अध्यक्षसमेत रहेका रावलले नेकपा एमालेभित्र युवालाई प्राथमिकतामा राख्दै युवामुखी राजनीति अघि बढिरहेको बताए। युवालाई नेतृत्वमा ल्याउँदा पुस्तागत दूरी नहुने र पार्टी थप ऊर्जाशील हुने उनको धारणा छ ।
महाधिवेशनमा सहभागी युवाहरूले ‘युवा भनेपछि जेन-जी मात्रै सम्झिने प्रवृत्ति गलत भएको’ उल्लेख गर्दै नेकपा एमालेभित्र पनि सशक्त युवा नेतृत्व अघि बढिरहेको स्पष्ट पारेका छन्।
सबैको सहभागिताले यो महाधिवेशन सफल र अर्थपूर्ण बनेको उनीहरूको भनाइ छ ।