एमालेमा कोही पक्ष–विपक्ष छैन, हामी सबै एक हौँ: कृष्णगोपाल श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
2.1k
Shares
काठमाडौँ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पनि पक्ष वा विपक्ष नरहेको र सबै नेता-कार्यकर्ता एकताबद्ध भएर 'एमाले' का रूपमा उभिएको बताएका छन्।
११औँ महाधिवेशनको मतदान प्रक्रिया चलिरहँदा बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै एमाले भएकाले यस निर्वाचनमा हुने जित वा हार समग्र पार्टीकै हुने धारणा राखे। उनले सबैभन्दा पहिला देश रहे मात्र पार्टी र जनताको समृद्धिको सपना पूरा हुने उल्लेख गर्दै देश बनाउन राजनीतिक दलहरू जोगिनु र बलियो हुनुपर्नेमा जोड दिए।
नेता श्रेष्ठले एमालेलाई जनताको मन-मनमा समेट्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताबाटै नेता बन्ने भएकाले उनीहरूले गर्ने फैसला आफूहरूलाई सधैँ मञ्जुर हुने स्पष्ट पारे। आवधिक निर्वाचनलाई विश्वास गर्ने पार्टी भएकाले कार्यकर्ताले गर्ने छनोटले नै नेतृत्व निर्धारण गर्ने उनको भनाइ थियो।
उनले ईश्वर पोखरेललाई नेकपा मालेदेखि एमाले बनाउनेसम्मको 'आर्किटेक्ट' का रूपमा स्मरण गर्दै कार्यकर्ताले विश्वास गरेका योग्य साथीहरूले नै आगामी दिनमा पार्टीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।