काठमाडौँ | जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ। रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्।
तास समाचार एजेन्सीसँग कुरा गर्दै रुडेन्कोले भने, "मस्को जापानमा चलिरहेको गैर-परमाणु सिद्धान्तहरूसँग सम्बन्धित संवैधानिक प्रावधानहरूमा सम्भावित परिवर्तनको छलफलका बारेमा जानकार छ। हामी यस विषयमा स्पष्ट रूपमा चासो व्यक्त गर्दछौँ र यसको आलोचना गर्दछौँ।" उहाँले जापानको सैन्यीकरणले यस क्षेत्रको अवस्था अझ खराब बनाउने र यसले खतरा महसुस गर्ने देशहरूबाट कडा प्रतिकार निम्त्याउने समेत बताए।
यस हप्ताको सुरुमा जापानको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जापानसँग आणविक हतियार हुनुपर्ने धारणा राखेका थिए। यो जापानको लामो समयदेखिको संवैधानिक गैर-आणविक सिद्धान्त र अडान विपरीत रहेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा यसले विवाद सिर्जना गरेको छ। दोस्रो विश्वयुद्धपछि जापानले 'आणविक हतियार नबनाउने, नराख्ने र भित्र्याउन नदिने' नीति लिँदै आएको छ।