बलिउडमा 'भ्यानिटी भ्यान' र 'व्यक्तिगत शेफ' को सास्ती: निर्माताहरू ऋणको चपेटामा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
1.2k
Shares
मुम्बई । बलिउडका शीर्ष कलाकारहरूको बढ्दो पारिश्रमिक र विलासी जीवनशैलीका कारण भारतीय फिल्म उद्योगको वित्तीय संरचनामा गहिरो दबाब परेको छ। व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र महँगा ट्रेलर (भ्यानिटी भ्यान) जस्ता मागले फिल्म निर्माणको लागत धान्नै नसक्ने गरी बढेको उद्योगका जानकारहरूले बताएका छन्।
महामारीपछि बलिउड बक्स अफिसमा अनिश्चितता बढिरहेका बेला धेरै निर्माता र वितरकहरूले घाटाको मुख्य कारण रचनात्मक कमजोरीभन्दा पनि कलाकारहरूको अतिरिक्त खर्चलाई मानेका छन्। निर्माता रमेश तौरानीका अनुसार समस्या उत्पादनमा भन्दा पनि कलाकारले लिने सुविधामा केन्द्रित छ। अचेल एकजना कलाकारले मेकअप आर्टिस्ट, जिम प्रशिक्षक र स्टाइलिस्टसहित १० देखि १५ जनाको टोली साथै लैजाने र उनीहरूको पाँचतारे होटल तथा महँगो यात्राको खर्च निर्माताले नै व्यहोर्नुपर्ने स्थिति छ।
वरिष्ठ निर्माता मुकेश भट्टले यी अतिरिक्त खर्चले फिल्मको गुणस्तरमा कुनै योगदान नदिने तर बजेट मात्र बढाउने भन्दै यस्तो प्रवृत्तिलाई 'अप्रिय' बताएका छन्। व्यापार विश्लेषक राज बंसलका अनुसार कलाकारहरूबीच एक-अर्काभन्दा बढी सुविधा माग्ने प्रतिस्पर्धा चल्दा खर्चको ग्राफ झन् उकालो लागेको हो।
बढ्दो लागतकै कारण सन् २०२४ मा ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ असफल भएपछि निर्माताले ऋण तिर्न सम्पत्ति नै बन्धक राख्नुपरेको घटना सार्वजनिक भएको थियो। अभिनेता तथा निर्माता आमिर खानले पनि करोडौँ कमाउने कलाकारले निर्मातामाथि बोझ थोपर्ने प्रवृत्तिको सार्वजनिक रूपमै आलोचना गरेका छन्।
यस संकटबाट बच्न केही निर्माताहरूले अब 'स्टार' भन्दा पनि कथावस्तुमा लगानी गर्नुपर्ने र कलाकारसँग नाफा-नोक्सान साझेदारीको मोडल अपनाउनुपर्ने सुझाव दिएका छन्। अभिनेता विवेक वासवानीका अनुसार यदि स्क्रिप्टभन्दा स्टारलाई ठूलो मान्ने हो भने त्यो सोच नै गलत हुनेछ। केही कलाकारहरूले भने व्यावसायिक धर्म निभाएको पनि देखिएको छ; जस्तै कार्तिक आर्यनले आफ्नो फिल्म असफल भएपछि पारिश्रमिक नलिएको सकारात्मक उदाहरण समेत उद्योगमा चर्चाको विषय बनेको छ।