संसद् पुनःस्थापना र निर्वाचन रोक्न माग गरिएको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
कांग्रेस, एमाले र अन्य साना दलका गरी कुल १४३ जना निवर्तमान सांसदहरू संसद् पुनःस्थापनाको पक्षमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
795
Shares
काठमाडौँ । निवर्तमान सांसदहरूले आगामी प्रतिनिधि सभा निर्वाचन रोक्न र संसद् पुनःस्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको पूरक रिटमाथि आज सुनुवाइ हुँदैछ। नेपाली कांग्रेसका थप ६५ सहित अन्य तीन सांसदको हस्ताक्षरमा दायर गरिएको यस रिटका लागि सर्वोच्चले आजको पेसी तोकेको हो।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीको वारेसमार्फत दायर यस रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाइएको छ। रिट निवेदकहरूले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक दाबी गर्दै वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरेका छन्। यो कदमले मुलुकको पछिल्लो राजनीतिक र संवैधानिक विवादलाई थप पेचिलो बनाएको छ।
यसअघि पनि संसद् पुनःस्थापनाको माग गर्दै विभिन्न दलका सांसदहरूले रिट दायर गरिसकेका छन्। मङ्सिर १० गते नेकपा एमालेका ७५ सांसद र मङ्सिर २३ गते नेपाली कांग्रेसका ८ सांसदले सर्वोच्चमा मुद्दा हालेका थिए। ती रिटहरूमाथि भएको प्रारम्भिक सुनुवाइपछि अदालतले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयसँग लिखित जवाफ माग गरिसकेको छ।
हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले र अन्य साना दलका गरी कुल १४३ जना निवर्तमान सांसदहरू संसद् पुनःस्थापनाको पक्षमा उभिएका छन्। सर्वोच्च अदालतमा एकीकृत रूपमा अघि बढाइएको यो कानुनी लडाइँले आगामी निर्वाचनको भविष्य र संवैधानिक निकासका सम्बन्धमा ठुलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।