काठमाडौँ । झुटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार आठ सय ६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकीलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो ।
उक्त कानूनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सीआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो ।
बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी नाफा कमाएको आरोप लगाइएको छ ।
साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।