गाली-गलौज भन्दा नीति, सिद्धान्त र एजेन्डाको बहस आवश्यक : सर्वेन्द्र खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
806
Shares
काठमाडौँ । समुन्नत पार्टी नेपालका अध्यक्ष सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अराजनीतिक दिशातर्फ गएको बताएका छन् ।
उनले अराजनीतिक संस्कारको शुद्धीकरण गर्न आवश्यक रहेको भन्दै नयाँले पुरानालाई र पुरानाने नयाँलाई गालीगलौज गर्ने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
गाली-गलौजको राजनीतिभन्दा नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्न आवश्यक रहेको उनको भनाइ छ ।
खनालका अनुसार समुन्नत पाटीले देशलाई समुन्नत कसरी बनाउने भन्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र, नीति र दीर्घकालीन रोडम्यापसहित राजनीति अघि बढाएको छ ।
पुरानाले नयाँलाई गाली गर्ने र नयाँले पुरानालाई गाली गर्ने प्रवृत्तिभन्दा माथि उठेर आफू कसरी सही बन्ने भन्ने कुरा आफूहरूको प्राथमिकता रहेको उनले बताए ।
उनले विगतका नेतृत्वहरूले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने र नराम्रा कामको कानूनी तथा व्यवहारिक रूपमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिए। राम्रा र नराम्रा कामको जस-अपजस सम्बन्धित पक्षले नै लिनुपर्ने उनको भनाइ छ ।
देशमा भ्रष्टाचारको समस्या व्यापक रहेको बताउँदै उनले कानूनी र त्रुटीहरूलाई सुधार गरी सुशासन स्थापना गर्ने विषयमा पार्टी केन्द्रित रहेको जानकारी दिए ।
उनले भने, ‘नेपालको राजनीतिक संस्कारमा जुन अराजनीतिक खालको अवस्था आयो, संस्कारको रुपमा विकास भयो । यसलाई हामीले शुद्धीकरण गर्नुपर्छ भन्ने लाग्छ मलाई । हामी एजेण्डामा बहस गर्छौँ, देशलाई समुन्नत कसरी गर्ने भनेरमा हामी बहस गर्न चाहन्छौँ । अब पुरानाले नयाँलाई गाली गर्ने, नयाँले पुरानालाई गाली गर्ने भन्दा पनि आफू कसरी ठिक हुने भन्ने कुरा चाँही घोषणापत्रमा, पोलिसिमा, सिद्धान्तमा भो, अनि साँचिकै नेपालको अवस्थालाई कसरी विकास गर्न सकिन्छ भनेर स्पष्ट रोडम्यापसहित हामी उत्रेका हौँ । हामी कसैलाई गाली गर्न पनि होईन । अब विगतमा भएका कतिले राम्रा काम पनि गरेका छन् । काम गरेकामध्येमा नराम्रा पनि भएका छन् । त्यो राम्रा र नराम्राको जस त उनीहरूले लिनैपर्छ, त्यो त छँदैछ । अब राम्रो कामलाई निरन्तरता पनि दिनुपर्छ र नराम्रा कामहरू चाहे त्यो लिगल एस्पेक्टमा होस्, चाहे प्राक्टिकल एस्पेक्टमा होस् । चाहे लुप होल्सहरू हुन्, यहाँ भ्रष्टाचारको विषय व्यापक छ । यी कुराहरूलाई कसरी राम्रो गर्न सकिन्छ, सुशासन ल्याउन सकिन्छ, भन्नेमा हामी केन्द्रित भएर पार्टीको एजेण्डा तय गरे अघि बढेका छौँ ।’
उनले आगामी निर्वाचनका लागि पार्टीले समानुपातिक बन्द सूची पेस गरेको पनि जानकारी दिए । चुनावमा भाग लिनका लागि आफूहरूले घोषणापत्र समेत तयार बनाइसकेको उनको भनाइ छ ।
उनले गैरआवासीय नेपाली नागरिकलाई कार्यकारी प्रमुख पदबाहेक अन्यमा सहभागी गराउने गरी नीति बनाउनुपर्ने पक्षमा आफूहरू रहको पनि जानकारी दिए ।