कांग्रेस कार्यसम्पादन समिति बैठकमा देउवा उपस्थित हुँदै, कार्यवाहक सभापति हटाएको संकेत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
3.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा स्वयं उपस्थित हुने उनी निकटको स्रोतले बताएको छ ।
उनले गत असोज २८ गते नै कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर सक्रिय राजनीतिबाट टाढा भएको संकेत दिएका थिए । तर सिंगापुर गएर उपचार गरेर फर्केपछि उनले गुट उपगुटसँग कुराकानी गर्दै सक्रियतालाई बढाइरहेका छन् । योसँगै उनले खड्कालाई कार्यवाहकबाट हटाएर आफैँ सक्रिय भएको संकेतसमेत दिएका छन् ।
खड्कालाई कार्यवाहक दिए पनि ठूला भेटमा भने आफैँ उपस्थित हुँदै आएका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेसँगै कार्यसम्पादन समितिको बैठक डाकिएको हो । महामन्त्रीद्वयले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगितको जानकारी दिँदै विशेष महाधिवेशनको तयारी शुरू भएको जनाएका हुन् ।
योसँगै आजको बैठकमा उनले महामन्त्रीद्वयले विशेष महाधिवेशन डाक्न नसक्ने भन्दै खारेज गर्ने तयारीस्वरुप आफैँ उपस्थित हुने स्रोतले बताएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोअनुसार कार्यतालिका पनि सार्वजनिक गरिएको थियो ।
नेतृत्वले सोअनुसार कार्यक्रम अगाडि नबढाएपछि महामन्त्रीद्वय तातेका हुन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा जनतामाझ नयाँ नेतृत्व र म्यान्डेटअनुसार जानका लागि पनि विशेष महाधिवेशन जरुरी भएको हो ।
गत असोज २९ गते नै ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन डाक्न आग्रह गरेका थिए । विधानअनुसार यसरी माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने प्रावधान छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ', विज्ञप्तिमा भनिएको छ ।
पार्टी विधानको दफा १७९२० बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको र उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने विज्ञप्तिमा उल्लेख छ ।