ट्याक्सीमा राखेर लगिँदै गरेका दुई बालिकाको उद्धार, गिरोहका दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
651
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकैको सडकबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
यही पुस १२ गते मध्यरात करिब १२:३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा राखेर लैजाँदै गर्दा प्रहरीले खानतलासी गरी पछाडिको सिटमा रहेका बालिकाहरूको उद्धार गरेको हो।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेका २६ वर्षीय राजन तामाङ र दोलखाका ३४ वर्षीय लक्ष्मण तामाङलाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने, रकमको सौदाबाजी गर्ने र महिला तथा बालबालिकाहरूलाई ललाई–फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको गम्भीर तथ्य फेला परेको छ।
पक्राउ परेकामध्ये लक्ष्मण तामाङको हकमा यसअघि २०७३ सालमा जिल्ला प्रहरी कार्यालय दोलखामा कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको समेत खुल्न आएको छ। प्रहरीले घटनास्थलबाट ट्याक्सीसहित उनीहरूले प्रयोग गर्ने दुई थान मोबाइल फोन समेत बरामद गरेको छ।
हाल पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारका साथै मानव बेचबिखन तथा ओसारपसार कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।