जापानमा सवारी दुर्घटना: सन् २०२५ मा दुई हजार पाँच सय ४७ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
1.7k
Shares
काठमाडौँ । जापानभर सन् २०२५ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अघिल्लो वर्षको तुलनामा एक सय १६ ले घटेर दुई हजार पाँच सय ४७ पुगेको प्रहरी तथ्याङ्कले मंगलबार देखाएको छ ।
राष्ट्रिय प्रहरी निकाय (एनपीए) का अनुसार सन् १९४८ मा तुलनात्मक तथ्याङ्क उपलब्ध भए यताकै यो सबैभन्दा न्यून संख्या भएपनि सन् २०२५ सम्ममा वार्षिक ट्राफिक मृत्युदरलाई दुई हजार भन्दा कममा झार्ने सरकारको लक्ष्य भने पूरा हुन सकेन ।
एनपीएका अनुसार कुल मृतकहरूमध्ये ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको हिस्सा ५५.९ प्रतिशत अर्थात एक हजार चार सय २३ रहेको छ ।
सन् २०२५ मा सवारी दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा तीन हजार छ सय ५९ ले घटेर दुई लाख ८७ हजार दुई सय ३६ पुगेको छ भने घाइते हुनेको संख्या छ हजार एक सय एकले घटेर तीन लाख ३८ हजार दुई सय ९४ मा झरेको छ ।
राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष जिरो आकामाले एक विज्ञप्तिमार्फत निर्धारित लक्ष्य पूरा हुन नसकेकोमा खेद व्यक्त गर्दै प्रहरीलाई ट्राफिक सुरक्षा शिक्षालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न र मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी चलाउँदा स्मार्टफोन प्रयोग गर्ने जस्ता घातक र खतरनाक ट्राफिक अपराधहरूमाथि कडा कारबाही गर्न निर्देशन दिने बताएका छन् ।