arrow

कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाउनुपर्नेमा निजी क्षेत्रको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
anjan-birendraraj-surendra.jpg

काठमाडौँ । कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा एवं १०औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरूले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताए । 

उनका अनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरैजसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनुहुँदैन ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ । लजिस्टिक कस्ट ३५ प्रतिशतसम्म लाग्दैआएको छ । ट्रान्जिट कस्ट पनि अरु देशमा एक महिनामा हुनेमा हाम्रोमा दुई महिना लाग्ने गरेको छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्नुपर्छ ।’

नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी रहेको बताए । उनका अनुसार स्वदेशी उद्योगबाट उत्पादित वस्तुको खपत बढाउने नीति सरकारले लिनुपर्छ ।

अध्यक्ष पाण्डेले भने, ‘बाह्य क्षेत्र राम्रो देखिए पनि आन्तरिक रुपमा निकै समस्या छ । उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ । स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्नुपर्छ । यस्तो नीतिले नै अर्थतन्त्र बलियो बनाउछ । आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान संचालन गर्नुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्नेमा जोड दिए । उनका अनुसार निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘निजी क्षेत्रले अहिलेसम्म पूँजी लगानी गर्ने वातावरण बन्न सकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । उत्पादनदेखि बजारीकरण, निर्यातमुखी उद्योगसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको छ । यस्तो अवस्थामा निर्यातमुखी व्यवसायीको हक, हित र संरक्षण हुनुपर्छ । हाल अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छैनन् । बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम हुँदाहुँदै पनि कर्जा विस्तार हुन सकेको छैन । यसको स्पष्ट अर्थ हो मुलुकमा लगानीमैत्री वातावरण बन्न सकेको छैन । निजी क्षेत्रमा विश्वासको अभाव छ । जेनजी आन्दोलनपछि मुलुकको अर्थतन्त्र कठिन अवस्थामा ग्रुजिरहेको छ ।’

अहिले पनि उद्योगहरू लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ