काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ। बिहीबार बिहान अध्यक्ष लिङ्देन संवादका लागि लामिछाने निवास पुगेका हुन्।
भेटका क्रममा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा निर्वाचनका विषयमा गम्भीर छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर राख्दै 'चुनावबारे कुनै आशङ्का छ र! कुरा यहाँबाट सुरु भयो है' भन्दै यो भेटघाटले निर्वाचन केन्द्रित नयाँ सहकार्यको सङ्केत गरेकोतर्फ इसारा गरेका छन्।
अध्यक्ष लिङ्देनले यसअघि बुधबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्ने चियापान कार्यक्रमको निम्तो दिन शीर्ष नेताहरूलाई भेटिरहेको बताइए पनि निर्वाचनको मुखमा भएका यी संवादहरूलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी वैकल्पिक शक्ति र दक्षिणपन्थी शक्तिका रूपमा चिनिएका यी दुई दलबीचको संवादले चुनावी तालमेलको सम्भावनालाई समेत खुला गरेको चर्चा सुरु भएको छ।