इटहरी घुम्ती साहित्य उत्सवमा गरियो किताबहरूका चर्चा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
743
Shares
विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् ।
लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ ।
महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए ।
संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ ।
त्यस्तै, २०८१ सालको मदन पुरस्कार विजेता उपन्यास ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गरे । काविमोले कविता र उपन्यासलाई ‘सबैलाई सजाउने फूल’ का रूपमा व्याख्या गरेको आयोजकले जनाएको छ ।
डा. नवराज केसीको ‘स्वस्पर्श’ कृतिमाथि केन्द्रित संवादमा जीवन, पीडा र आनन्दका विभिन्न तहबारे चर्चा गरिएको जनाइएको छ ।
नाट्यकर्मी सोनु जयन्तीको सहजीकरणमा डा. केसीले जीवनलाई अलिक परबाट हेर्ने दृष्टि आवश्यक हुने बताएका थिए ।
कर्णालीमा कार्यरत बालरोग विशेषज्ञ केसीले दुःखका बीच पनि जीवनमा खुशी खोज्नुपर्ने धारणा राखेको जानकारी दिइएको छ ।
पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले संवाद गरेको जनाइएको छ ।
यस्तै, ददि सापकोटाको ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरेका थिए भने सुबिन भट्टराईका कृति ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले संवाद सञ्चालन गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमको पहिलो चरणमा ११ जना कविहरूले कविता वाचन गरेका थिए ।