पशुपति क्षेत्रमा शुरू भयो ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
742
Shares
काठमाडौं । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण शुरू भएको छ ।
सोमबार वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जग पूजा गर्दै पुनःनिर्माणको कार्य प्रारम्भ गरेका हुन् ।
नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी) को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब १३ लाख ७० हजार रुपैयाँ लागतमा फल्चा पुनर्निर्माण थालेको हो ।
पुनर्निर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउने गरी काम गरिने वडाध्यक्ष संगतले जानकारी दिए ।
अध्यक्ष संगतका अनुसार फल्चा केवल विश्राम स्थलमात्र नभई पाशुपतको महत्वपूर्ण मध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो ।
उनका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।
फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने गहिरो जनविश्वास छ ।
यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुननिर्माण थालिएको हो ।
फल्चाको पुननिर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठूलो भूमिका खेल्नेछ ।
यससँगै स्थानीयले विलाउँदै, हराउँदै गएको एउटा महत्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुन: प्राप्त गर्नेछन् ।