ई-कमर्स निर्देशिकाका लागि क्यान महासंघको नीतिगत सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
735
Shares
काठमाडौँ। नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन (क्यान) महासंघले प्रस्तावित ‘ईकमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघको सूचना प्रविधि विकास समितिमार्फत पेश गरेको छ ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले उक्त सुझावहरू पेश गर्दै नेपालको डिजिटल बजारलाई सुरक्षित, सरल र सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष अधिकारीले नेपाली ईकमर्स क्षेत्रको विकासका लागि तीनवटा मुख्य स्तम्भहरू आवश्यक रहेको बताए ।
उनले सुरक्षा सरकारले केवल डाटा सुरक्षाको कुरा मात्र नगरी ’राष्ट्रिय न्यूनतम् सुरक्षा मापदण्ड’ तोक्नुपर्ने सुझाव दिइएको छ । साथै, मापदण्ड पूरा गर्ने प्लेटफर्महरूलाई ’ट्रस्ट सिल’ प्रदान गरी उपभोक्ताको विश्वास जित्नुपर्ने बताइएको छ ।
सरलता व्यवसाय दर्ताका लागि धेरै कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न ’एकीकृत एपीआई आधारित दर्ता’ प्रणालीको वकालत गरिएको छ । यसले पेन,भ्याट र ओसिआर विवरणहरूलाई स्वचालित रूपमा सरकारी पोर्टलमा क्थलअ गर्नेछ ।
जेल सजायको साटो जरिवानाको माग समेत क्यान महासंघले गरेको छ । निर्देशिकाको मस्यौदामा उल्लेखित कडा सजायका व्यवस्थाहरूले स्टार्टअप उद्योगमा डरको वातावरण सिर्जना गर्ने क्यान महासंघको ठहर छ ।
प्लेटफर्मको असफलतामा प्रस्ताव गरिएको तीन देखि पाँच वर्षको जेल सजायलाई हटाएर वर्गीकरण अनुसारको आर्थिक जरिवाना मात्र राख्न सुझाव दिइएको छ ।
दर्ताका लागि ९० दिनको समय र ’सेफ हार्बर’ को व्यवस्था
महासंघले साना तथा मझौला उद्योगहरूका लागि हालको ३५ दिने दर्ता अवधिलाई अव्यवहारिक भन्दै यसलाई बढाएर ९० दिनको ‘प्राविधिक सहयोग अवधि’ बनाउन माग गरेको छ ।
यदि कुनै ईकमर्स प्लेटफर्मले विक्रेताको उचित जाँचबुझ गरेको छ भने विक्रेताको व्यक्तिगत उत्पादन त्रुटिमा प्लेटफर्मलाई जिम्मेवार ठहर्याउन नहुने गरी ’सेफ हार्बर’ को प्रावधान राख्न समेत सुझाइएको छ ।
अन्तर्राष्ट्रिय भुक्तानीको बाटो खोल्न आग्रह
नेपाली ईकमर्सलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीको समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
यसका लागि नेपाल राष्ट्र बैंकलगायतका निकायहरूसँग समन्वय गरी एक कार्यदल बनाउन र साना डिजिटल कारोबारमा शुल्क मिनाहा गर्न प्रस्ताव गरिएको छ ।
सूचना प्रविधि विकास समितिका सभापति शक्तिकुमार बेगानी र सहसभापतिले क्यान महासंघको यो पहललाई समय सान्दर्भिक र रचनात्मक भन्दै स्वागत गरेको छ ।
निर्देशिका केवल ‘नियमन’ गर्ने दस्ताबेज मात्र नभई डिजिटल नेपाल निर्माणको ‘साझेदारी’ दस्तावेज हुनुपर्ने क्यान महासंघको निष्कर्ष छ ।