देवघाटमा शुरु भयो माघेसङ्क्रान्ति मेला: बेनीमा लिङ्गो ठड्याइयो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
710
Shares
काठमाडौँ । चितवन, तनहुँ र नवलपरासीको पवित्र सङ्गमस्थल देवघाटधामको बेनीमा परम्परागत रूपमा बाँसको लिङ्गो ठड्याएसँगै यस वर्षको माघेसङ्क्रान्ति मेला विधिवत् रूपमा शुरु भएको छ।
सो अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीसहित देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा स्थानीय भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। यस धार्मिक अनुष्ठानले देवघाटमा माघेसङ्क्रान्तिको औपचारिक शुरुवात भएको संकेत गरेको छ।
मेलाको व्यवस्थापन र सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्। भक्तजनहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ।
देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्ष माघेसङ्क्रान्ति मेला भर्न र त्रिशूली तथा कालीगण्डकीको सङ्गममा स्नान गर्न करिब तीन लाख भक्तजनहरू आउने अनुमान गरिएको छ। मेला अवधिभर यातायात, स्वास्थ्य शिविर र स्वयंसेवकहरूको परिचालनलाई प्रभावकारी बनाइएको छ।