arrow

पुससम्म ३९ अर्ब २३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
udyog-bhibhag.jpg

काठमाडौँ । पुस महिनासम्म नेपालका चार सय ७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा उक्त लगानी प्रतिबद्धता आएको हो ।

यसअघि असोजसम्म तीन सय ११ ओटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

विभागका अनुसार हालसम्म प्रत्यक्ष वैदेशिक लगानीको कुल प्रतिबद्धता सात हजार सात सय १३ ओटा उद्योगमा छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

चालु आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये सात ओटा ठूला, आठ ओटा मध्यम र चारसय ६० ओटा साना उद्योग छन् ।

गत पुस महिनामा मात्रै ३६ ओटा साना उद्योगमा पाँच अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा पछिल्लो ६ महिनामा उद्योग संख्याका आधारमा सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ ।

कृषिमूलक उद्योगमा अग्रस्थानमा

रकमका आधारमा भने कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ । कृषिमूलक १३ ओटा उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

यस अवधिमा सूचना प्रविधिमूलक दुई सय ५७ ओटा उद्योगका लागि एक अर्ब सात करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी पर्यटनमूलक क्षेत्रका एक सय ४५ ओटा उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ ओटा उद्योगमा दुई अर्ब तीन करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा चार करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ ओटा उद्योगमा तीन अर्ब ४६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ