इरान हिंसा: २१ दिनमा तीन हजारभन्दा बढीको मृत्यु,‘नयाँ नेतृत्व’ खोज्ने ट्रम्पको उद्घोष
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इरानमा अब नयाँ नेतृत्व खोज्ने समय आएको टिप्पणी गरेका छन्। इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति तीव्र जनआक्रोशका बीच सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पले पोलिटिकोसँगको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन्।
उनले तेहरानको नेतृत्वले सत्ता टिकाउन हिंसा र दमनको सहारा लिएको आरोप लगाउँदै खमेनीलाई आफ्नो देशको विनाश र इतिहासमै नदेखिएको हिंसाका लागि जिम्मेवार ठहर्याएका छन्। ट्रम्पले साँचो नेतृत्व डर र मृत्युमा नभई सम्मानमा आधारित हुनुपर्ने बताउँदै खमेनीलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिएका छन् र आफ्नै नागरिकलाई मार्न बन्द गर्न सुझाव दिएका छन्।
राष्ट्रपति ट्रम्पको यो कडा प्रतिक्रिया इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समार्फत इरानको अशान्तिका लागि अमेरिकालाई दोष दिएपछि आएको हो। खमेनीले ट्रम्पमाथि इरानी जनताको इच्छालाई गलत रूपमा चित्रण गरेको र हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति स्वयं देशद्रोह र आपराधिक कार्यमा संलग्न भएको दाबी गरेका छन्। दुई नेताबीचको यो वाकयुद्धले वासिङ्टन र तेहरानबीचको कूटनीतिक सम्बन्धमा थप दरार पैदा गरेको छ भने विश्लेषकहरूले यसलाई इरानभित्रको राजनीतिक अस्थिरता र शासन प्रणालीप्रतिको गहिरो विभाजनका रूपमा हेरेका छन्।
यसैबीच, इरानमा जारी विरोध प्रदर्शनको २१ औँ दिनमा तीन हजार ३०८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने हजारौँ अन्य घटनाबारे अनुसन्धान भइरहेको छ। मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार स्थिति निकै भयावह बनेको छ। देशभर इन्टरनेट ब्ल्याकआउट र सुरक्षा निकायको कडा दमनका बावजुद प्रदर्शनकारीहरू सडकमा छन्। हालसम्म कम्तीमा २४ हजार २६६ जना पक्राउ परेका छन् र दुई हजारभन्दा बढी गम्भीर घाइते भएका छन्। यसै सन्दर्भमा खमेनीले पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शनका क्रममा हजारौँ मानिसले ज्यान गुमाएको तथ्यलाई स्वीकार गरेका छन्।