राजेन्द्र लिङ्देनको दाबी - सबै क्षेत्रको उम्मेद्वार आजै टुंग्याउँछौँ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
2.6k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सोमबार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुंग्याएर सार्वजानिक गर्ने बताएका हुन् ।
उनले देश अब निर्वाचनतर्फ अघि बढेको बताए । निर्वाचनका लागि राप्रपा पूर्ण तयारी भएको पनि उनले बताए।
उनले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने बताए।
उनले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अघि सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरुको पूर्ण सूची केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदैछ । हामी पनि चुनावमा तयारी भएर अघि आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ शुरू गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’
उनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गरे ।
राजसंस्था, सनातनी हिन्दूराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरू राप्रपामा धुव्रीकृत भइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा पत्रकार गजेन्द्र बुढाथोकी, कानून व्यवसायी भद्रप्रसाद नेपाललगायत राप्रपामा प्रवेश गरेका थिए ।
बुढाथोकी राप्रपाको समानुपातिक सूचीमा छन् भने नेपाललाई झापा क्षेत्र नं २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ ।