arrow

प्रदेशको महिमा घटाउँदै सांसदहरू, प्रतिनिधि सभामा लड्न समय अगावै भट्टाभट्ट राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
parliament-bagmati-province.jpg

काठमाडौँ । प्रदेश सभा सदस्यहरुले प्रदेशको गरिमा घटाउँदै गएका छन् । उनीहरु स्वयंले प्रदेशको औचित्य कम भएकोसमेत पुष्टि गर्न थालेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रदेश सांसदहरुले धमाधम राजीनामा दिन थालेपछि प्रदेशको महत्व कम आँकिएको हो । 

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीय तहका प्रमुखहरूदेखि लिएर प्रदेश सांसदहरुले राजीनामा दिएपछि प्रतिनिधि सभाको महत्व बढेको छ । सबैजसो प्रदेशबाट सांसदहरूले राजीनामा दिएका छन् । 

यता, बागमती प्रदेश सभाका छ जना सदस्यले राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरुले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । 

आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुनिल केसीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । 

काफ्लेले प्रदेश सभा सचिवालयमै पुगेर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा बुझाएको छ भने प्रदेश सभा सदस्य मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमार्फत राजीनामा पठाएको सचिव पौडेलले बताए । 

राजीनामा दिएका मास्के प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ मा टिकट पाएका छन् । 

यसैगरी दुलाल नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएका छन् । 

प्रदेश सभा सदस्यहरुको राजीनामा पत्र सचिवालयमा आइसकेको र दर्ता गरी स्वीकृत प्रक्रिया अघि बढेको सचिव पौडेलको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ