काठमाडौँ । सिरहा प्रहरीले १९ वर्षअघि भएको एक बालिकाको जघन्य हत्याका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। विसं २०६३ सालमा कल्याणपुर नगरपालिका (साविक बेलहा गाविस) की १६ वर्षीया बालिकाको घाँटी थिची हत्या गरेको आरोपमा ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
घटनाको विवरण अनुसार २०६३ मङ्सिर १३ गते बालिका मृतावस्थामा फेला परेकी थिइन्। प्रहरी अनुसन्धानबाट मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र उक्त प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित भई सल र हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ।
हत्यापछि फरार भएका मुखिया विगत १९ वर्षदेखि भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी हालै आफ्नो घर आएको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई माघ ३ गते पक्राउ गरेको हो। पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।