इलाममा चुनावी सरगर्मी: दुई क्षेत्रमा २७ उम्मेदवार, सुहाङ र भेषराजबीच प्रतिष्ठाको लडाइँ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
976
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलामका दुईवटा निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाममा तीन महिलासहित कुल २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर १ मा १३ जना र क्षेत्र नम्बर २ मा १४ जना चुनावी मैदानमा उत्रिएका छन्।
क्षेत्र नम्बर १: १३ उम्मेदवारबीच प्रतिस्पर्धा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा दुई महिलासहित १३ जनाले मनोनयन बुझाएका छन्। यहाँ नेकपा (एमाले) बाट काजीमान कागते, नेपाली कांग्रेसबाट निश्कल राई र नेपाली कम्युनिष्ट पार्टीबाट रणबहादुर राई मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस क्षेत्रमा राप्रपा र नेमकिपाले महिलालाई उम्मेदवार बनाएका छन्। अन्य उम्मेदवारहरूमा रास्वपाका विमल गदाल, नेकपा (माओवादी) का नारदमणी साङपाङ र जसपाका लिलाबहादुर सुनुवारलगायत रहेका छन्।
क्षेत्र नम्बर २: सुहाङ र भेषराजको कडा टक्कर सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको छ। यहाँ एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङबीच रोचक भिडन्त हुने देखिएको छ। राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाम्फे यस क्षेत्रकी एक मात्र महिला उम्मेदवार हुन्। इलाम-२ मा रास्वपाका ३२ वर्षीय गोकुलबहादुर राई सबैभन्दा कान्छो उम्मेदवार र नेकपा (माओवादी) का ६८ वर्षीय होमप्रसाद खतिवडा सबैभन्दा जेठो उम्मेदवारका रूपमा रहेका छन्।
मतदाता र मतदान केन्द्रको अवस्था इलाममा यसपटक ६ हजार ९३२ मतदाता थपिएसँगै कुल मतदाताको सङ्ख्या २ लाख ३१ हजार ८०९ पुगेको छ। जसमा १ लाख १९ हजार ६४८ पुरुष, १ लाख १२ हजार १५८ महिला र ३ जना तेस्रोलिङ्गी मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर १९० मतदान स्थलमा २५० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले बताए।