arrow

हतियार बुझाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
Myagdi prasasan.jpg

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार जिल्लाका विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त हतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा यही माघ २० गतेभित्र अनिवार्य रूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनुपर्नेछ। 

निर्वाचनको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले यस्तो कदम चालेको हो र तोकिएको समयभित्र हतियार नबुझाउनेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

यसैबीच एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीको सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया समेत सम्पन्न भइसकेको छ। 

निर्वाचन कार्यालयले हाल निर्वाचन प्रहरी भर्ना, कर्मचारी तथा सुरक्षाकर्मीको परिचालन र आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापनमा तीव्रता दिइरहेको बताएको छ। ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा यसपटकको निर्वाचनका लागि कुल ८६ हजार ३९७ जना मतदाता कायम भएका छन्। 

निर्वाचनलाई लक्षित गरी जिल्लाभर ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ