आबेको हत्यामा संलग्न यामागामीलाई आजीवन कारावासको सजाय
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
1.8k
Shares
काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संलग्न तेत्सुया यामागामीलाई अदालतले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ। नारा सहरको जिल्ला अदालतका न्यायाधीश शिनिची तनाकाले जुलाई २०२२ मा भएको उक्त विभत्स हत्यालाई जापानी इतिहासकै अभूतपूर्व र गम्भीर घटना ठहर गर्दै यो फैसला सुनाएका हुन्।
मुद्दाको सुनुवाइका क्रममा ४५ वर्षीय यामागामीले हस्तनिर्मित बन्दुक प्रयोग गरी चुनावी सभामा सम्बोधन गरिरहेका आबेको हत्या गरेको स्वीकार गरेका थिए। अभियोजनकर्ताहरूले यो हत्या अत्यन्त पूर्वनियोजित रहेको र सन् २०२० देखि नै यामागामीले बन्दुक बनाउन सुरु गरेको प्रमाण अदालतमा पेश गरेका थिए।
प्रतिरक्षा पक्षले भने यामागामीको बाल्यकाल आमाको चरम धार्मिक आस्था (एकीकरण चर्चलाई गरिएको १० करोड येन दान) का कारण ध्वस्त भएको र उनले 'धार्मिक दुर्व्यवहार' झेल्नुपरेकाले मानसिक रूपमा विक्षिप्त भई यो कदम चालेको तर्क राखेको थियो।
यस घटनाले जापानको राजनीति र समाजमा गहिरो प्रभाव पारेको छ। हत्यापछि गरिएको अनुसन्धानले एकीकरण चर्च र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको घनिष्ठ सम्बन्ध उजागर गरेपछि जापानका चार मन्त्रीले पद समेत त्याग्नुपरेको थियो। कडा बन्दुक नियन्त्रण कानुन भएको जापानमा यो घटनालाई सुरक्षा संयन्त्रको ठुलो कमजोरीका रूपमा लिइएको छ।