काठमाडौँ । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका चर्चित वैज्ञानिक डा. महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पुनले आफ्नो चुनावी अभियानका लागि 'त्रिभुज' चिह्न रोजेका छन् भने उनको उम्मेदवारीसँगै म्याग्दीको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। एक मात्र निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका छन् भने निर्वाचनका लागि ८२ मतदानस्थल र १२० मतदान केन्द्रहरू कायम गरिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका नवीन जिसीले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार तोकिएको समयभित्र जिसीले मात्र उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए।
जिल्लामा अब नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्मरबहादुर सुवेदीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसैगरी नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरे (ध्रुव), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उम्मेदवारी पनि कायमै रहेको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएसँगै म्याग्दीमा चुनावी सरगर्मी निकै बढेको छ।