'इभेन्ट सिनेमा' र राष्ट्रवादी लहरले बदल्दैछ बलिउडको स्वरूप
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
866
Shares
काठमाडौँ । भारतीय चलचित्र उद्योग (बलिउड) पछिल्लो समय 'ठूलो स्केल' र 'भव्य प्रस्तुति' भएका चलचित्र निर्माणतर्फ तीव्र रूपमा केन्द्रित हुन थालेको छ। विशेषगरी देशभक्ति, राष्ट्रवादी आख्यान र ठूला एक्सन दृश्यहरूलाई प्राथमिकता दिने यो नयाँ प्रवृत्तिले बलिउडको परम्परागत कथावाचन शैलीलाई नै परिवर्तन गरिदिएको उद्योगका जानकारहरू बताउँछन्।
विश्लेषकहरूले यसलाई ‘इभेन्ट सिनेमा’ को संज्ञा दिएका छन्। मोबाइल र स्ट्रिमिङ प्लेटफर्ममा रमाइरहेका 'जेन–जी' (नयाँ पुस्ता) दर्शकलाई हलसम्म फर्काउन स्टुडियोहरूले ठूलो बजेट र चर्चित कलाकारमाथि लगानी बढाएका छन्। फिल्म प्रदर्शक अक्षय राठीका अनुसार यो रणनीति सफल देखिएको छ। सन् २०२६ मा हिन्दी बक्स अफिस सङ्कलनमा करिब ५० प्रतिशतसम्म वृद्धि हुने र युवा दर्शकको उपस्थिति २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
बलिउडको यो नयाँ लहरमा व्यावसायिक सफलता मात्र नभई राजनीतिक र वैचारिक सन्देश पनि हावी हुन थालेको छ। आलोचकहरूका अनुसार धेरैजसो चलचित्रहरू वर्तमान सत्ताको हिन्दू–राष्ट्रवादी विचारधारासँग मेल खाने विषयवस्तुमा आधारित छन्। व्यापार विश्लेषक अतुल मोहनका अनुसार सत्ताको केन्द्रमा को छ भन्ने कुराले चलचित्रका विषयवस्तु निर्धारण गरिरहेका छन्। तर, वैचारिक लेपन भए पनि सबै चलचित्र सफल नहुने उनको तर्क छ। उनले सन् २०२२ को सफल 'द काश्मीर फाइल्स' र २०२५ को असफल 'द बङ्गाल फाइल्स' लाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे।
अहिले हिन्दी सिनेमामा भू-राजनीतिक द्वन्द्व, आन्तरिक शत्रु र 'वीर पुरुषत्व' झल्किने कथाहरूको बाहुल्यता छ। सन् २०२५ को सफल फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धर २’ आगामी मार्चमा प्रदर्शन हुँदैछ, जसले यो प्रवृत्तिलाई अझ बलियो बनाउने देखिन्छ। यद्यपि, वरिष्ठ समीक्षक अर्नब बनर्जी भने चलचित्रको शिल्पभन्दा प्रचार र सन्देश हावी हुँदा कलात्मक पक्ष कमजोर बनेकोमा चिन्ता व्यक्त गर्छन्। उनी अनावश्यक हिंसा र सामाजिक सञ्जालको प्रचारले फिल्मको भाग्य निर्धारण गरिरहेको बताउँछन्।
समग्रमा, बलिउड अहिले रचनात्मक प्रयोग र व्यापारिक मुनाफाको दोसाँधमा छ। निर्देशक अहमद खान भने विधा वा विचारधारा जे भए पनि अन्त्यमा चलचित्रको गुणस्तर र निर्माण शैलीले नै त्यसको सफलता तय गर्नेमा विश्वास व्यक्त गर्छन्।