पुटिन र जेलेन्स्की एक-अर्कालाई घृणा गर्छन्, तर शान्ति सम्झौता नजिक छ : ट्रम्प
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
2.2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि केही सकारात्मक प्रगति भइरहेको बताएका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको व्यक्तिगत कटुताका कारण शान्ति प्रयास निकै चुनौतीपूर्ण बनेको उनले स्वीकार गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै नेताले एक-अर्कालाई घृणा गर्ने भएकाले समाधान निकाल्न कठिन भए पनि आफूहरू सम्झौताको निकै नजिक पुगेको र यसलाई टुङ्ग्याउने राम्रो सम्भावना रहेको दाबी गरे।
ट्रम्पले हालै पुटिनसँग फोन संवाद गरी कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको भन्दै कीभ र अन्य सहरहरूमा एक हप्ताका लागि आक्रमण रोक्न अनुरोध गरेका थिए। क्याबिनेट बैठकमा उनले आफ्नो अनुरोधलाई पुटिनले सकारात्मक रूपमा लिँदै आक्रमण रोक्न सहमत भएको जानकारी दिए।
धेरैले फोन संवाद खेर जाने आशङ्का गरे पनि पुटिनले त्यसलाई सम्मान गरेको ट्रम्पको भनाइ छ। उनले युक्रेनमा अहिले रेकर्ड तोड्ने चिसो परेकाले मानवीय आधारमा यस्तो प्रस्ताव राखेको स्पष्ट पारे।
कूटनीतिक प्रयासहरू जारी रहे पनि युद्ध मैदानमा हिंसा भने रोकिएको छैन। बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रुसी ड्रोन आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने राष्ट्रपति जेलेन्स्कीले रुसले फेरि अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्।
यसैबीच, रुसले युद्ध अन्त्यका लागि जेलेन्स्कीलाई मस्कोमै वार्ताका लागि आमन्त्रण गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अबुधाबीमा भएको त्रिपक्षीय बैठकपछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा हेरिएको बताएका छन्। रुसी अधिकारीहरूले जेलेन्स्की मस्को आएमा उनको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने समेत बताएका छन्।