arrow

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
pashupatinath1.jpg

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ 'छाया दर्शन' गराइएको छ। प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व हेर्न पशुपति क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार लाममा बसेका सबै भक्तजनलाई आज छाया दर्शन गराइनेछ। हिउँद सकिँदै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन न्यानो हुन थालेको सङ्केतसँगै पशुपतिनाथमा यो धार्मिक र रहस्यमयी उत्सव सम्पन्न हुने गर्दछ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ।

संस्कृतिविद् श्रीकृष्ण डङ्गोलका अनुसार स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख 'अघोर' को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराइने यो परम्परा नेपालको मौलिक तान्त्रिक पद्धतिको अनुपम नमुना हो। पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको अघोर स्वरूपलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ। 

शास्त्र र जनश्रुतिअनुसार यसको तेज यति प्रखर हुन्छ कि सामान्य आँखाले सीधा हेर्न कठिन हुने भएकाले जलमा प्रतिविम्बित गराएर हेर्ने विधि बसालिएको हो। यो एक प्रकारको 'आध्यात्मिक सेफ्टी फिल्टर' हो, जसरी हामी सूर्यको तेजलाई पानी वा ऐनाको 'रिफ्लेक्सन' मार्फत हेर्छौं। जलतत्वले अग्नि समान ऊर्जालाई सोसेर सौम्य बनाउने हुनाले यो विधि वैज्ञानिक समेत मानिन्छ।

यो परम्परा प्राचीन काठमाडौँको एक हिस्सा सुवर्णपुरकी रानी भव लक्ष्मीको सङ्कल्पसँग जोडिएको छ। उनले भगवान्को शिरमा आकर्षक कुसुम फूल (नेपाल भाषामा 'तिकिन्छा') चढाउने सङ्कल्प गरेकी थिइन्। तिकिन्छा केबल फूल मात्र नभई बेतबाट बनाइने एक विशिष्ट शिल्पकला हो, जुन तीन तहको गुम्बज आकारमा निर्माण गरिन्छ। 

रानीले यस पर्वलाई स्थायित्व दिन नवरत्न जडित हीरा, पन्ना र जात्रा सञ्चालनका लागि जग्गा समेत दान दिएको इतिहास छ। स्थानीय नेवाः समुदायले यसलाई 'तिकिन्छा द्यः' का रूपमा पुज्ने गर्छन् भने कतिपयले 'पद्मपाणि लोकेश्वर' का रूपमा आराधना गर्छन्, जसले हिन्दू र बौद्ध धर्मबीचको धार्मिक सहिष्णुतालाई पुष्टि गर्दछ।

पशुपति मन्दिरको दक्षिणपट्टिको मझेरीमा जल भरिएको स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म यो दिव्य प्रतिविम्ब हेर्न पाइन्छ। यो छाया दर्शनको ६ महिनापछि 'पवित्रारोपण' हुने गर्दछ, जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ। 

तर, पछिल्लो समय बेतबाट तिकिन्छा बनाउने विशिष्ट शिल्प लोप हुँदै जानु र सांस्कृतिक महत्व बुझाउन नसक्नुले यो पर्व संरक्षणमा चुनौती देखिएको छ। गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेका अनुसार यो जात्रा वनस्पति विज्ञान र खगोल विज्ञानको समेत जीवन्त प्रमाण हो। यो पर्वले ईश्वरको शक्ति अपार छ र त्यसलाई महसुस गर्न विनम्रताका साथ आफ्नो दृष्टिकोण बदल्नुपर्छ भन्ने सन्देश दिने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ