काठमाडौँ । रुसको ओरेनबर्ग क्षेत्रको ओस्र्क सहर नजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार दिउँसो १२:५१ बजे भएको उक्त दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ आपत्कालीन स्थिति मन्त्रालयको उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धारकर्मीहरूका अनुसार विमान जमिनमा खसेपछि कुनै आगलागी भने भएको थिएन। विमान दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। खराब मौसम, प्राविधिक गडबडी वा मानवीय त्रुटि के कारणले विमान खस्यो भन्नेबारे स्थानीय कानुन प्रवर्तन निकायहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन्।