भाडा नतिर्ने आठ सहकारीलाई कामनपाको सात दिने 'अल्टिमेटम'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
796
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि घरभाडा नतिर्ने आठवटा सहकारी संस्थाहरूलाई सात दिनभित्र बहाल चुक्ता गर्न सार्वजनिक सूचनामार्फत अन्तिम चेतावनी दिएको छ। महानगरको कानुन तथा मानव अधिकार विभागले सूचना जारी गर्दै न्यायिक समितिबाट घर कोठा खाली गर्ने निर्णय भइसकेका सहकारीहरूलाई यस्तो जानकारी गराएको हो।
गत माघ १५ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकले ती सहकारीले ओगटेका कोठाहरू खाली गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेका अनुसार सूचनामा उल्लेख गरिएका सहकारीका पदाधिकारी, कर्मचारी वा सदस्यहरूले तोकिएको समयभित्र महानगरको कानुन विभागमा सम्पर्क गर्नुपर्नेछ।
यदि तोकिएको सात दिनभित्र कोही पनि सम्पर्कमा नआएमा महानगरले न्यायिक समितिको निर्णय अनुसार बल प्रयोग गरेरै ती घर कोठाहरू खाली गराउनेछ। यसरी कार्यालय खाली गर्दा त्यहाँ रहेका सामानहरू सम्बन्धित घरधनीकै जिम्मामा छोडिने र पछि ती सामान वा सम्पत्तिका विषयमा कुनै पनि दाबी विरोध नलाग्ने व्यहोरा समेत महानगरले स्पष्ट पारेको छ।
महानगरले नाम सार्वजनिक गरेका सहकारीहरूमा आशा बचत तथा ऋण सहकारी, नव सवल, सन्दुप, सुन्ताखाल, युनिफाइड, महाबौद्ध, ग्रेट गङ्गासागर र प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्। यी सहकारीहरूले काठमाडौँका विभिन्न वडाहरूमा कार्यालय भाडामा लिएर सञ्चालन गर्दै आएका थिए।
पछिल्लो समय सहकारीका सञ्चालकहरू बचतकर्ताको रकम लिएर फरार हुने र भाडा समेत नतिरी कार्यालयमा ताला लगाएर बेपत्ता हुने क्रम बढेपछि घरधनीहरू समस्यामा परेका छन्। भाडा नपाएको र आफ्नो घरको कोठा समेत प्रयोग गर्न नपाएको भन्दै घरधनीहरूले महानगरमा उजुरी दिएपछि यो प्रक्रिया सुरु गरिएको हो। महानगरले यसरी सार्वजनिक सूचना जारी गरेर फरार सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन र घरधनीको सम्पत्ति फिर्ता गराउन खोजेको छ। यो कदमले सहकारी पीडित घरधनीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।