arrow

सुनील थापाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
sunil-thapa-82-10-24-died.jpg

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनील थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पुर्‍याएका थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका साथ अन्तिम दाहसंस्कार गरिएको हो।

पशुपति आर्यघाटमा आयोजना गरिएको अन्तिम बिदाइ कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, सङ्गीतकार शम्भुजित बासकोटा, चलचित्र विकास बोर्डका प्रतिनिधि र विभिन्न कलाकार सङ्घ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

उनीहरूले थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली सभामा सहभागी चलचित्रकर्मी तथा आफन्तजनले स्व. थापाको कला यात्रालाई स्मरण गर्दै उनको योगदान नेपाली चलचित्र इतिहासमा सदैव अमर रहने उल्लेख गरे।

थापाको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो। अस्पतालमा उपचारकै क्रममा प्राण त्यागेका उनको शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टम गरिएपछि आज अन्त्येष्टिका लागि पशुपति ल्याइएको थियो। उनले नेपाली चलचित्र क्षेत्रमा दशकौँसम्म अभिनय गर्दै दर्जनौँ सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गरेका थिए। विशेषगरी नकारात्मक भूमिका (भिलेन) मा उनको अभिनयले नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको चलचित्रकर्मीहरूको भनाइ छ।

थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, समर्पित र कर्मठ कलाकार गुमाएको भन्दै सबैले यस क्षतिलाई अपूरणीय बताएका छन्। उनले पर्दामा निभाएका पात्रहरू आज पनि दर्शकको मानसपटलमा ताजा रहेका छन्। उनको निधनको खबरले कला क्षेत्र मात्र नभई सम्पूर्ण शुभचिन्तकहरू स्तब्ध भएका छन्। नेपाली सिने जगत्को एउटा बलियो खम्बा ढलेको भन्दै धेरैले सामाजिक सञ्जालमार्फत उनीप्रति सम्मान व्यक्त गरेका छन्। आफ्नो जीवनको अन्तिम समयसम्म पनि कला क्षेत्रमै सक्रिय रहेका थापाको बिदाइसँगै नेपाली चलचित्रको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको महसुस गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ